हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती


काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरेका छन् । 

प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उनले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताएका हुन् । हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकोले हेलिकप्टरमार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उनले बताए ।

त्यस्ता क्षेत्रमा त्रिशूली वा रसुवालगायत हेलिकोप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उनले जानकारी दिए । उनले स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडी बढाएको पनि जानकारी दिएका छन् । उनले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर भइरहेको बताए ।

तीन वटै सुरक्षा निकायले विपद्को पहिलो दिनदेखि नै उद्धार तथा राहतमा सक्रियतापूर्वक काम गरिरहेको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा कुनै किसिमका फेक भिडियो नफैलाईदिन पनि आग्रह गरे ।

हाल सामाजिक सञ्जालमा राहत तथा उद्धारको सन्र्दभमा धेरै फेक भिडियोहरु फैलिएको पाईएको उनको भनाइ छ । सामाजिक सञ्जालमा फैलिएका फेक भिडियोले जनमानसमा नकरात्मक प्रभाव पार्ने भएकोले त्यसतर्फ सर्तक हुन उनले आग्रह गरे ।

छिमेकी मुलुकसँग समन्वय गर्दै उद्धार तथा राहतमा आवश्यक सहयोग लिइरहेको पनि उनले बताए । राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको उनको भनाइ छ । बेपत्ता व्यक्तिका नाम प्राप्त हुनेबित्तिकै तीनवटै सुरक्षा निकायमार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको उनले बताए ।