केरुङ नाकामा गएको पहिरोपछि उद्धार कार्य तिब्रः विदेशी सञ्चारकर्मीद्वारा स्थलगत अवलोकन


चीन–नेपाल सीमास्थित केरुङ (गिइरोङ) नाकामा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछिको अवस्था र जारी उद्धार कार्यको वस्तुस्थिति बुझ्न विदेशी सञ्चारकर्मीहरूको टोलीले सो क्षेत्रको भ्रमण गरेको छ ।

उच्च हिमाली क्षेत्रमा हिमनदी (ग्लेसियर) भत्किएका कारण आएको उक्त पहिरोले सीमा क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यस प्राकृतिक विपद्मा परी ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेहरूमा २३ विभिन्न देशका २६१ विदेशी नागरिक समेत रहेका छन् । उद्धार कार्यको विवरण दिँदै सिजाङ (तिब्बत) जनसरकारका कार्यकारी उपाध्यक्ष रेन वेईले चीनले उद्धारका लागि व्यापक जनशक्ति र प्रविधि परिचालन गरेको जानकारी दिए ।

उनकाअनुसार हालसम्म २ हजार ५ सय भन्दा बढी उद्धारकर्मी, ५ सय भन्दा बढी सवारी साधन र ९ हजार भन्दा बढी आधुनिक उद्धार उपकरणहरू प्रयोग गरिएका छन् ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोनमार्फत १ हजार भन्दा बढी उडानहरू गरिएका छन् भने प्रभावित क्षेत्रमा ५.४३ टन राहत सामग्री हवाई मार्गबाट खसालिएको छ ।

थप पहिरो र जोखिमको सम्भावनालाई मध्यनजर गर्दै ढिस्को र खोँचहरूको चौबीसै घण्टा प्राविधिक निगरानी भइरहेको छ ।

नाका बन्द भएका कारण अलपत्र परेका १ हजार ७ सय २० नेपाली सीमावर्ती बासिन्दाहरूलाई स्थानीय चिनियाँ अधिकारीहरूले आवश्यक सहयोग उपलब्ध गराएका छन् ।

साथै, केरुङ नाका भएर अन्यत्र जान लागेका ३ हजार ३ सय ८८ विदेशी नागरिकलाई वैकल्पिक मार्गमार्फत गन्तव्यतर्फ पठाइएको छ ।
विपद व्यवस्थापनमा दुई देशबीचको सहकार्यलाई पनि प्राथमिकता दिइएको छ ।

चीनले नेपाललाई मौसम, जलविज्ञान र हिमनदीसम्बन्धी तथ्याङ्कहरू नियमित रूपमा उपलब्ध गराइरहेको छ । नेपाल सरकारको अनुरोधमा चीनले सुरुङ उद्धार विशेषज्ञ, डीएनए परीक्षण विज्ञ र अन्य प्राविधिक टोलीसहित आपत्कालीन राहत सामग्री नेपाल पठाएको कार्यकारी उपाध्यक्ष वेईले बताए ।