वर्ल्डलिंकद्वारा बाढीप्रभावितका लागि रु. १ करोड १ लाख सहयोग


काठमाडौँ । भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम सोमबार हस्तान्तरण गरेका हुन् ।

विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु निजी क्षेत्रको पनि दायित्व भएको उल्लेख गर्दै सिइओ नेपालले भनेका छन्, “हामी व्यवसाय मात्र होइन, समाज र राष्ट्रप्रति पनि जिम्मेवार छौं। प्राकृतिक विपद्ले हजारौं नेपाली परिवार प्रभावित भएको अवस्थामा उनीहरूको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो ।”

बाढीका कारण वर्ल्डलिंकको आफ्नै नेटवर्क तथा पूर्वाधारमा समेत ठुलो क्षति पुगेको छ । कम्पनीका अनुसार प्रारम्भिक मूल्याङ्कनमा करिब रु. ३ करोड ५० लाख बराबरको क्षति भएको छ ।

आफ्नै संरचनामा क्षति व्यहोरे पनि कम्पनीले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुन नदिन तीव्र गतिमा पुनःस्थापनाको काम अघि बढाएको थियो । बाढी आएको तीन दिनभित्रै अधिकांश प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

“इन्टरनेट आज सूचना आदानप्रदान, उद्धार, राहत र आपत्कालीन समन्वयको महत्वपूर्ण माध्यम बनेको छ। त्यसैले सेवा निरन्तरता कायम राख्नु पनि मानवीय सहयोगकै एक हिस्सा हो,” नेपालले भने ।

सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या हुँदा पनि वल्र्डलिंकका प्राविधिक टोलीहरूले प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापनामा निरन्तर काम गरेका थिए।

नेपालको डिजिटल कनेक्टिभिटी क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंकले सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई समेत निरन्तर प्राथमिकता दिँदै आएको छ।

सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको तत्काल राहत, पुनस्र्थापना तथा पुनर्निर्माण अभियानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको वर्ल्डलिंकले जनाएको छ ।