काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको युवा जागरण आन्दोलनको स्मरण गर्दै त्यसले उठाएका सुशासन, विधिको शासन, नागरिक अधिकार र भ्रष्टाचारविरुद्धका मुद्दा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा लामिछानेले वर्षौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण तथा अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको स्मरण गरेका छन् । उनले उक्त आन्दोलनलाई परम्परागत राजनीतिक शैलीप्रतिको “प्रस्ट अस्वीकृति पत्र” को संज्ञा दिएका छन्।
लामिछानेले परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बगेको दृश्य आफूहरूका लागि सबैभन्दा पीडादायी क्षण भएको उल्लेख गरेका छन्।
“भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् । परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्,” उनले सन्देशमा उल्लेख गरेका छन्।
नले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा ज्यान गुमाउने नागरिक तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा मानसिक र शारीरिक चोट भोग्नुपरेका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै राज्यले उनीहरूको उपचार, हेरचाह र पुनस्र्थापनाको दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।
लामिछानेका अनुसार राजनीतिमा खासै चासो नराख्ने भनिएको युवा पुस्ता जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो, त्यसले नयाँ पुस्ताको चेतना र परिवर्तनप्रतिको आकांक्षालाई उजागर गरेको थियो । “यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन,” उनले भनेका छन् ।
उनले उक्त आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरण भएको दाबी गर्दै कुनै पनि राजनीतिक दल वा नेताले त्यसलाई आफ्नो राजनीतिक लाभको औजार बनाउन नहुने बताएका छन् ।
साथै, युवाहरूले सडकबाट उठाएका प्रश्नहरूको जवाफ दिने जिम्मेवारी अहिले राजनीतिक नेतृत्वमाथि आएको उल्लेख गर्दै उनले नागरिक समाज, युवा र आम जनतालाई निरन्तर खबरदारी र कार्यसम्पादनको समीक्षा गरिरहन आग्रह गरेका छन् ।
“नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,” लामिछानेले बताएका छन ।
सन्देशको अन्त्यमा उनले जागरण आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू विचलित नहुने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्