गृहमन्त्री गुरुङको टिप्पणी,‘२३ गते देश मरेको दिन थियो’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई पुराना राजनीतिक दलहरूले गलत ढङ्गले व्याख्या गर्ने गरेको आरोप लगाएका छन् ।
जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले ईतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिए ।
जेनजी आन्दोलन नेपालको एतिहासिक ईतिहास भएको दाबी गर्दै उनले इतिहासको अपव्याख्या गर्ने छुट कसैलाई नभएको बताए ।
उनले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी दिए ।
उनले भने,“पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेका देख्दाखेरि अचम्मै लाग्छ र म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो । इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् ।”
उनले जेनजी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गरे । भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको गृहमन्त्री गुरुङको दाबी थियो ।
शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको कारण भदौ २४ गतेको घटना भएको उनको दाबी थियो । भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भईरहेको उनले असन्तुष्टि व्यक्त गरे ।
गृहमन्त्री गुरुङले भने,“भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ । न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ । जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, हामीसँगै आन्दोलन गरेका भाइ–बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै नमानी २४ गते जल्यो भन्दै ट्रेनिङ दिइराखेको देखिन्छ, देश जलेको दिन । २३ गते देश मरेको दिन थियो, मान्छे मरे भने त यो देश पनि कहाँ रहन्छ ?”


प्रतिक्रिया दिनुहोस्