सरकारमाथि महेश बस्नेतको आरोप, ‘राज्यको सामर्थ्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल भयो’


काठमाडाैँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामथ्र्यलाई नियन्त्रणमा जेनजी आन्दोलनका निश्चित मानिसहरुलाई बताउने खेल भएको दाबी गरेका छन् । 

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बस्नेतले आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाए ।

उनले कारबाही नहुनुले प्रहरीसमेत घटनामा संलग्न रहेको आशंका पैदा भएको दाबी गर्ने बताए । बस्नेतले जेनजी प्रदर्शन घटनामा प्रहरी संरचनासमेत ठूलो क्षतिमा परेको उल्लेख गर्दै प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारमा ठूलो क्षति भएको उल्लेख गरे ।

उनले यस्तो अवस्थामा पनि दोषीमाथि कारबाही हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले जेनजी घटनाको छानबिनका लागि गठन भएको कार्की आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाए ।

सिंहदरबार, संसद तथा सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र हिंसाबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ । बस्नेतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म राखिएको प्रसंग उठाउँदै त्यसबाट के अभियोग स्थापित भयो ? भन्ने प्रश्न समेत गरे ।

उनले प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिमाथि पनि घटनाको गम्भीर छानबिन भए कारबाहीको आधार भेटिन सक्ने दाबी गरे । 

उनले भने, “जेन–जी आन्दोलनका क्रममा गोली चलाउने पनि तिमीहरू नै हौ, सिंहदरबार, संसद् र सर्वोच्च अदालत जलाउने पनि तिमीहरू नै हौ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ। तर यी घटनाको निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ । कार्की आयोगको रिपोर्टका आधारमा बालेनको सरकार बनेको २४ घण्टा नबित्दै बिहान ३ बजे केपी ओलीलाई गिरफ्तार गरियो । त्यसपछि रमेश लेखकलाई पनि गिरफ्तार गरियो। १३ दिनसम्म हिरासतमा राख्दा पनि उनीहरूमाथि के अभियोग लगाउन सकियो ? त्यसको जवाफ सरकारले दिनुपर्छ । जेन–जी आन्दोलनका क्रममा भएका हत्या, हिंसा र आगजनीको गम्भीर छानबिन हुने हो भने बालेन, सुदन र रविसहित जिम्मेवार देखिएका सबैमाथि कानूनी कारबाही हुनुपर्छ । हामीसँग आवश्यक आधार र प्रमाणहरू सुरक्षित छन् । त्यसैले कसैलाई राजनीतिक संरक्षण दिइनु हुँदैन । प्रत्येक घटनाको एक–एक हिसावकिताव हुनुपर्छ ।”

बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’को संज्ञा दिए । विदेशी शक्तिको प्रभावमा सरकार चलेको आरोप लगाउँदै उनले सरकार जति लामो समय रहन्छ, मुलुकलाई त्यति नै क्षति हुने दाबी गरे । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारमा समेत सरकार असफल भएको उनको आरोप छ ।

उनले विपद्को समयमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको भने प्रशंसा गरे । तर, सुरक्षा निकायको नेतृत्व र समग्र संस्थामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ । बस्नेतले रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पर्याप्त रूपमा प्रयोग हुन नसकेको आरोप लगाए । पीडितहरूले रकम तिरेर समेत हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा अनुमति नदिइएको उनको दाबी छ ।