सहकारी ठगीमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छः प्रदीप ज्ञवाली


काठमाडाैँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचनमा उनले राजनीतिक संरक्षणको आधारमा ठगलाई जोगाउन नहुने बताए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीमा संलग्न पार्टी सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन नै गरेको आरोप लगाए ।

ठगीमा संलग्नलाई जोगाउन आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी भएको उनको भनाइ छ । उनले एमालेले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि दाबी गरे ।

उनले आफ्नो पार्टीसँग जोडिएका र सहकारी ठगीमा संलग्न भएको पाइएका इच्छाराज तामाङ, ढोरपाटनका मेयर देवकुमार नेपाली र सहकारी विभागका पूर्वप्रमुख केबी उप्रेतीलाई कारबाही गरेको उल्लेख गरे ।

उनले कुनै राजनीतिक दलका नेतामाथि कानुनी कारबाही हुँदा त्यसलाई स्वीकार गरेर कानुनलाई सहयोग गर्नुपर्ने बताए। तर, सभापति पक्राउ परेपछि रास्वपाले देशव्यापी आन्दोलन गरेर ‘उपद्रव’ मच्चाएको उनको आरोप छ ।

सहकारी ठगीका कारण सबैभन्दा बढी साना बचतकर्ता पीडित बनेको उनको भनाइ छ । सहकारीबाट रकम लिएर जग्गा कारोबारमा लगाउने प्रवृत्तिले पनि सहकारी क्षेत्रमा थप समस्या देखिएको बताए । उनले सहकारी पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने उल्लेख गरे ।