काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा चयन भएको छ।
कतारको राजधानी दोहामा जारी एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी एक वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा चयन गरिएको हो। गैर–क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षमा चयन भएको छ।
एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ। वार्षिक बैठकका अवसरमा अर्थमन्त्री तथा एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन्।
बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधारमार्फत हुने पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको प्रमुख आधार रहेको बताए।
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए। नेपालजस्ता विकासशील मुलुकको आवश्यकतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने भन्दै उनले स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित गर्ने किसिमले वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस्