दशैँ नजिकिँदै गर्दा काठमाडौंका असन, इन्द्रचोकलगायतका बजारमा रङ्गीचङ्गी चङ्गा, लट्ठाई र धागोले पसलहरू सजिन थालेका छन्। साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म चङ्गा किन्न र नयाँ डिजाइनका चङ्गा छान्न पसलपसल चाहार्ने गर्छन्। रातो, पहेँलो, नीलो, हरियो र विभिन्न बुट्टाले सजिएका चङ्गाले बजारलाई थप आकर्षक बनाउनुका साथै दशैँ आएको आभास गराउन थालेका छन्।
विभिन्न प्रकारका चङ्गा र लट्ठाई बोकेर युवा पुस्ता यतिबेला डाँडाडाँडामा चङ्गा उडाउन व्यस्त देखिन्छन्। दशैँमा चङ्गा उडाउनु केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो प्रतिस्पर्धा, उत्साह र बाल्यकालका मीठा सम्झनासँग जोडिएको परम्परा पनि हो।
आकाशमा दुई चङ्गाबीच हुने ‘चेट’ अर्थात् एकअर्काको धागो काट्ने प्रतिस्पर्धाले चङ्गा उडाउनेलाई मात्र नभई हेर्नेहरूलाई पनि उत्तिकै रोमाञ्चित बनाउँछ। जब कुनै चङ्गाको धागो काटिन्छ, वरपरबाट ‘चङ्गा चेट्!’ भन्दै आवाज गुञ्जिन्छ। काटिएर खस्ने चङ्गा समात्न दौडिने बालबालिकाको उत्साह र चङ्गा हात परेपछि उनीहरूको अनुहारमा देखिने खुसीले दशैँको रौनकलाई थप जीवन्त बनाउँछ।
तर, आधुनिक प्रविधिको विकाससँगै युवा पुस्तामा डिजिटल खेलप्रतिको आकर्षण बढ्दै जाँदा पहिलेझैँ डाँडाडाँडामा चङ्गा उडाउनेको सङ्ख्या घट्दै गएको अनुभूति गरिन्छ। कुनै समय दशैँको आगमनसँगै रङ्गीचङ्गी चङ्गाले भरिने नीलो आकाश अहिले तुलनात्मक रूपमा सुनसान देखिन थालेको छ।
चङ्गा उडाउने परम्परा मनोरञ्जनमा मात्र सीमित छैन, यसले पुस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यास, सामूहिक सहभागिता र चाडपर्वको उल्लासलाई समेत प्रतिनिधित्व गर्छ। आधुनिकतासँगै बदलिँदो जीवनशैलीले यस्ता परम्परामा पारिरहेको प्रभावले भविष्यका पुस्तामा कस्तो छाप छोड्ला भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक बनेको छ।
तस्बिर: शंकर भुजेल/नेपाल फोटो सर्भिस





















प्रतिक्रिया दिनुहोस्