काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा समेत निहित रहेको बताएका छन् ।
सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नेपाल प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक सङ्गठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता बदलिँदा सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न प्रहरीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । आधुनिक सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोग गर्दा मानवअधिकार, कानूनी प्रक्रिया र व्यावसायिक विवेकलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो ।
आईजीपी कार्कीले प्रहरी कर्मचारीहरू व्यक्तिगत धारणा, बाह्य प्रभाव र कुनै पनि प्रकारको अनुचित दबाबबाट मुक्त रही कानूनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने बताए । कानून कार्यान्वयन गर्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले त्यसको प्रक्रिया पनि पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्नेमा जोड दिए ।
‘नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने ।
महानिरीक्षक कार्कीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा प्रहरीले विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए । यस्ता घटनामा गोपनीयता कायम गर्दै पीडितकेन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिन उनले प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।
नेपाल प्रहरीलाई नागरिकप्रति उत्तरदायी, पारदर्शी र परिणाममुखी सङ्गठनका रूपमा स्थापित गर्न निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै उनले प्रविधिको विवेकपूर्ण प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
दीक्षान्त समारोहमा व्यावसायिक तालिम पूरा गरेका प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले सङ्गठनलाई नागरिकको सहयोगी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न आग्रह गरे । नागरिकको विश्वास कायम राख्दै निष्पक्ष, व्यावसायिक र जिम्मेवार ढङ्गले कर्तव्य निर्वाह गर्नु प्रत्येक प्रहरी कर्मचारीको दायित्व भएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्