काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।
आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको बम्पर उपहार तामाङले जितेकी हुन् । उनले दशैंका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरी बिल लिएकी थिइन् । सोही बिलको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।
काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै कलाकारद्वयले तामाङलाई टेलिफोन गरी १० लाख रुपैयाँको उपहार जितेको जानकारी दिएका थिए ।
सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारहरूले यो नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन कार्यक्रम भएको बताएपछि आफू विजेता बनेको विश्वास लागेको थियो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भूसालका अनुसार उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा उपभोक्ताले सिस्टममा प्रविष्ट गरेका २ लाख ७५ हजार ८८४ बिल र क्युआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबार गरी कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा सहभागी भएका थिए ।
बम्पर उपहारबाहेक विभागले उक्त अवधिका प्रत्येक दिन एक जनाका दरले १६ जना दैनिक विजेता पनि घोषणा गरेको छ । उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् । कर कट्टीपछि प्रत्येक विजेताको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ ।
बम्पर विजेता तामाङसहित सबै विजेताले पुरस्कार दाबी गर्न आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित आगामी कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्