अर्थमन्त्री वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट’मा सहभागी हुन नयाँदिल्लीमा


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्।

उनी भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गर्ने ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन बिहीबार बिहान नयाँदिल्ली पुगेका हुन्।

डा. वाग्ले बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानबाट नयाँदिल्ली पुगेका हुन्।

दुई सदस्यीय भ्रमण टोलीमा उनीसँगै प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले उनलाई स्वागत गरेका थिए।

समिटमा अर्थमन्त्री वाग्ले उच्चस्तरीय प्यानलमा अतिथि तथा वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ। बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशङ्करको विशेष सम्बोधन सत्रमा उनी अतिथिका रूपमा सहभागी हुनेछन्।

शुक्रबार बिहान सवा ११ बजे समिटअन्तर्गतको ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको अन्तरक्रियात्मक सत्रमा सहभागी भई उनले सम्बोधन गर्ने कार्यतालिका छ।

तीनदिने भारत भ्रमण पूरा गरी अर्थमन्त्री वाग्ले शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।