कात्तिक ११ देखि नेपालमा मौसम प्रभावित हुन सक्ने, सतर्क रहन आग्रह


काठमाडौं । भारतको बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रका कारण आगामी कात्तिक ११ गतेदेखि नेपालको मौसम प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) सम्म चक्रवाती आँधीमा विकसित हुन सक्ने देखिएको छ ।

उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

उक्त मौसमी प्रणालीका कारण कात्तिक ११ गते (अक्टोबर २८) बुधबारदेखि कात्तिक १५ गते (नोभेम्बर १) आइतबारसम्म नेपालमा मौसम प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, आगामी दिनमा विकसित हुने मौसमी प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ ।

मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि महाशाखाबाट जारी हुने नियमित सूचनामा ध्यान दिन पनि आग्रह गरिएको छ ।