नेप्से दोहोरो अंकले घट्यो, महिला लघुवित्तको सर्वाधिक कारोबार


काठमाडौं । साताको पहिलो कारोबारको पहिलो दिन नेप्से ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार गत साता ३ दिन भने उकालो लागेको थियो।

आइतबार (आज) नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.९६ अंकले घटेर ४९९.७८ अंकमा घटेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

आज कारोबार रकमका आधारमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । संस्थाको १८ करोड ९३ लाख ४९ हजार ४ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कम्पनीले आज नै ५० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

त्यस्तै आज सपोर्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.४६ प्रतिशतले घटेको छ ।

कूल २२० वटा कम्पनीको ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५ सय ८१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।