काठमाडौँ । नेपाल क्रसर तथा उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले क्रसर उद्योगीले मापदण्ड पूरा गरेर उद्योग नविकरण गर्न जादाँ समेत सरकारी निकायले नविकरणमा वेवास्ता गरेको बताएका छन् ।
आइतबार महासंघले गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै न्यौपानेले नेपाल सरकारको २०७९ माघ ११ गते भएको मन्त्री परिषद्काे बैठकले दर्ता भई संचालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योग कानुन बमोजिम लाग्ने कर, दस्तुर, शुल्क लगायतका राजश्व लिई २०८० असार मसान्तसम्म नविकरण गर्ने भनेर निर्देशन दिएपनि सम्बन्धीत निकायले वेवास्ता गरेको बताएका हुन् ।
उनले भने, “हाम्रा उद्योगी व्यवसायीहरू जिल्ला जिल्लामा रहेका नेपाल सरकारको सम्बन्धीत निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर शुल्क लगायतका राजश्व रकम बुझाउन जादा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण भन्दै रकम बुझन नमानेको र उद्योगहरू नविकरण समेत भएको छैन । अब हामीले उनीहरूले वेवास्ता गरेपछि समयमा नवीकरण गर्ने ।’’
अध्यक्ष न्यौपानेले नेपाल सरकारबाट कानून बमोजिम दर्ता भइ ईजाजत लिइ सञ्चालनमा रहेका क्रसर खानी तथा वालुवा उद्योगहरू २०८० असार १५ गते भित्र नविकरण गर्न मातहतका निकायहरूलाई लिखित स्पष्ट निर्देशन नभए महासंघले असार १६ गतेबाट देशभरका सम्पूर्ण क्रसर, खानी तथा वालुवा उद्योगहरू अनिश्चित कालको लागि बन्द गर्ने बताए ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका महासचिव पुरुषोत्तम रेग्मीले दर्ता भएका उद्योगलाई सरकारले नवीकरण गर्ने निर्णय गरेको र त्यसमा मापदण्ड पालनाको विषय उल्लेख नरहेको बताए ।
उनले भने “निर्णयमा क्रसर सार्नुपर्ने विषय उल्लेख छैन । नवीकरणका लागि गएका उद्योगहरूलाई शुल्क नै तिर्न दिइएन, मन्त्रिपरिषद्ले गरेको निर्णय जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरूले कार्यान्वयन नै गर्न मानेनन् ।”
त्यस्तै महासंघका उपाध्यक्ष श्यामराज खड्काले क्रसर उद्योगरहरू संचालनमा नआउदाँ नयाँ नेपाल निर्माण नहुने बताएका छन् । उनले क्रसर उद्योग देखि अन्य खानीहरू बन्द गराउँदा सडक निर्माण देखि अन्य कार्यहरूपनि ठप्प हुने बताए । उनले भने, “राज्यको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग गर्ने क्षेत्रलाई असहज वातावरणको सिर्जना गराएर संकटमा पार्न खोजियो । बरु सरकारले यसलाई सहज वातावरणको सिर्जना गरेर यस्ता वस्तुलाई निर्यात गर्न आवश्यक थियाे ।”
खड्काले सरकारले क्रसर उद्योगहरू बन्द गराउँदा टिप्पर व्यवसायपनि संकटमा आउनेदेखि उनीहरूको रोजगारमा समेत समस्या आउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्