जो बाइडनको ६० खर्बको बजेट १० खर्बको राहतले फेरिदै अमेरिकी अर्थतन्त्र


निरु अर्याल

गत मेको अन्त्यतिर अमेरिकी राष्ट्रपति जो बाइडनले ६० खर्ब डलर खर्च योजनासहित आफ्नो पहिलो वार्षिक बजेट सार्वजनिक गरे । उनको यो बजेटले कोरोना भाइरसको महामारीले संकुचनमा आएको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनमात्रै सघाएन, चालू आर्थिक वर्षमा अमेरिकी अर्थतन्त्रमा दोब्बर हुने संकेत देखाएको छ ।

जो बाइडनको योजनामा कोरोना भाइरसको प्रभावबाट अर्थतन्त्र जोगाउन अमेरिकामा १० खर्ब डलरको राहतको प्याकेज ल्याइएको छ, जुन अहिलेसम्मकै ठूलो राहत प्याकेज भनेर व्याख्या गर्न थालिएको छ । अमेरिकी पत्रिका वासिंटन पोस्टका अनुसार वाइडनको पहिलो बजेटमा पुँजीपती वर्गले तिर्नुपर्ने करको दर निकै बढाइएको छ भने गरिब अर्थात न्यून आम्दानी हुनेरूका लागि विभिन्न खाले राहत र छुटका कार्यक्रम अघि सारिएको छ ।

अर्को त्यस्तो एउटा ठूलो प्रस्तावमा ठूला सामाजिक कार्यक्रमहरू र जलवायु परिवर्तनविरुद्ध लगानी गरिने पनि उल्लेख छ । बाइडनले अमेरिकी अर्थतन्त्र चलायमान बनाउने क्रममा सावधानी र सुझबुझपूर्ण उपायका साथ योजना सार्वजनिक गरेको बताउँदै आएका छन् ।
वाइडनको उक्त योजनाअन्तर्गत अमेरिकाको ऋणभार सन् २०३१ सम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ११७ प्रतिशत पुग्नेछ । यो बिन्दु दोस्रो विश्वयुद्धताकाको भन्दा पनि बढी भएको बताइन्छ ।

रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पदमा रहँदा पनि बर्सेनि ऋणभार बढेको थियो । उनको अन्तिम वार्षिक खर्च प्रस्ताव ४८ खर्ब डलरको रहेको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ । बाइडनको बजेटमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र अन्य सरकारी निकायका लागि १५ खर्ब डलर चालू खर्च समाविष्ट गरिएको छ ।

बजेटमा यसअघि उनले चर्चा गर्ने गरेका २३ खर्ब डलरको रोजगारी योजना तथा १८ खर्ब डलरको परिवारसम्बन्धी योजना समेटिएका छन् । डेमाक्र्याटिक राष्ट्रपति बाइडनले आफ्नो बजेटले अमेरिकी नागरिकमा सीधै लगानी गरिने हुँदा देशको अर्थतन्त्रलाई सुदृढ पार्न एवं दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्न सघाउ पुग्ने बताएका छन्, जसबाट कोरोना भाइरसको महामारीबाट पिल्सिएको अर्थतन्त्रलाई तल्लो तहबाटै उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाइडन प्रशासनले ल्याएको ६० खर्ब डलरको परियोजनाबाट करिब ८ खर्ब डलर बढी जलवायु परिबर्तनको लडाईमा एवं स्वच्छ ऊर्जामा खर्चिने उल्लेख छ । जलवायु परिजर्तनको मुद्दा यतिबेला संसारभर पेचिलो बनेको छ ।

यस्तै बाइडनले २ खर्ब डलर रकम तीन र चार वर्षका बालबालिकाका लागि निःशुल्क प्रि–स्कूलका लागि खर्च गरिने योजना सार्वजनिक गरेका छन् भने १ खर्ब ९ अर्ब डलर रकम अमेरिकाको लागि दुई वर्षे निःशुल्क सामुदायिक कलेजका लागि खर्च गर्ने योजना अघि सारेका छन् ।
यस्तै, २२५ अर्ब डलर परिवारहरूलाई भत्ता दिने एउटा राष्ट्रिय कार्यक्रम र चिकित्सकीय बिदासम्बन्धी कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ । जसले अमेरिकालाई तुलनात्मक रुपमा समृद्ध राष्ट्रको तहमा ल्याउन कोशेढुंगा साबित हुने बाइडन प्रशासनको अपेक्षा छ ।

बाइडनले ११५ अर्ब डलर सडक र पुलहरूका लागि एवं १६० अर्ब डलर सार्वजनिक यातायात र रेलसेवामा खर्च गरिने योजना बुनेका छन्, जसले सार्वजनिक यातायत र रेलसेवा अझै प्रभावकारी बन्दै जाने र जनतालाई सहज यातायात सुविधा उपलब्ध हुने बताइएको छ । यस्तै, १०० अर्ब बढी रकम हरेक अमेरिकी घरधुरीमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच सुधार गर्न खर्च गरिने योजना अघि सारिएको छ ।

अहिले अमेरिकाको आर्थिक अवस्था थप मजबुत भएको भन्दै वाइडेन प्रशासनको प्रशंसा गरिएको छ । वाइडेन प्रशासनले आपतकालीन युद्धसँग जुधे जसरी राज्य संयन्त्रका हरेक समूहलाई विश्वासमा लिएर यथेष्ट बजेट समेत निकासा दिन सफल भएको चर्चा गर्न शुरु भएको छ ।

खोप लगाउनेलाई १०० डलर

अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । विश्वकै अति–विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् । अमेरिका कोभिड महामारीको संक्रमण दर र मृत्यु हुनेको दर सबैभन्दा धेरै भएको मुलुक हो । अमेरिकाले नागरिकको सामाजिक सुरक्षाका साथै आर्थिक र मानवीय विषयलाई निकै प्राथमिकतामा राख्ने गर्दछ ।

यद्यपि खोपको प्रयाप्त उपलब्धता हुँदा हुँदै पनि अपेक्षित रूपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विशेष अनुरोध गर्दै आएको छ । खोप लगाउनेको संख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेज समेत ल्याएको छ । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणा समेत गरेको छ ।

लक्ष्य भेटाउन १५ लाख डलरको पुरस्कार

अहिले अमेरिकी राज्य सरकारहरूले कोरोना विरुद्धको खोप लगाउने आफ्नो लक्ष्य हासिल गर्नको लागि पुरस्कारको समेत घोषणा गरेका छन् । न्यूयोर्क, क्यालिफोर्निया, मेरील्यान्ड लगायतका राज्यहरूले आफ्नो लक्ष्य भेटाउन पुरस्कारको घोषणा गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो राज्य र जनसंख्यामा समेत पहिलो राज्यको रुपमा रहेको क्यालिफोर्नियाले १५ लाख डलरको पुरस्कारको घोषणा गरेको छ । उक्त राज्यमा ३ करोड ९५ लाख ३८ हजार २२३ जनसंख्या छ ।

(अर्याल, अमेरिकाका लागि टक्सार आर्थिक म्यागजिनकी प्रतिनिधि हुन्)
टक्सार म्यागजिन, भाद्र २०७८ मा प्रकाशित
PDF