विदेशी सञ्चिति ६.६ प्रतिशतले घट्यो, आयात ७५.९ प्रतिशतले र निर्यात ११५.४ प्रतिशतले बढ्याे


काठमाडौं । गत वर्ष असार मसान्तको तुलनामा विदेशी सञ्चिति ६.६ प्रतिशतले घटेको छ ।

२०७८ साल असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु १३९९ अर्ब ३ करोड बराबर रहेकोमा ६.६ प्रतिशतले कमी आइ भदौ मसान्तमा यो सञ्चिति रु १३०६ अर्ब ९५ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यो सञ्चिति २०७८ साल असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो । भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आइ ११ अर्ब १४ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विगत दुई महिनाको आर्थिक गतिविधिको आधारमा सार्वजनिक गरेको प्रमुख आर्थिक झलकको आधारमा वार्षिक विन्दुगत आधारमा मूल्य सूचकांकमा आधारित मुद्रा स्फीति ३.३९ प्रतिशत रहेको छ ।

यसैगरी आयात ७५.९ प्रतिशतले र निर्यात ११५.४ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.३ प्रतिशतले र अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेको छ ।

शोधानान्तर स्थिति रु ८३ अर्ब ४१ करोडले घाटा देखिएको छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको छ ।

संघीय सरकारको खर्च रु८९ अर्ब ९४ करोड र राजस्व परिचालन १६८ अर्ब ५८ करोड रहेको छ । विस्तृत मुद्रा प्रदाय ०.२ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय २०.९ प्रतिशतले बढेको छ ।

अनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले बढेको छ । निजीक्षेत्रमाथिको दाबी ६.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर २१. ७ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी ३२.५ प्रतिशत रहेको झलकमा दर्शाइएको हो ।