स्याङ्जाको भीरकोट नगरपालिकामा सहकारी संघ गठन


काठमाडौँ । सहकारी अभियानको विकास, संरक्षण, प्रवर्द्धन गर्न स्याङ्जाको भीरकोटमा “भीरकोट सहकारी संघ” गठन गरिएको छ।

वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्न तोयानाथ अर्यालको अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरिएको हाे । सहकारी संघको उपाध्यक्षमा चन्द्र बहादुर बस्नेत, सचिवमा लेखबहादुर के.सी. , सहसचिवमा सरस्वती अधिकारी, कोषाध्यक्षमा भविश्वर कोइराला, सदस्यहरूमा खुमकान्त खनाल,कृष्ण बहादुर अधिकारी क्षेत्री, चण्डिका सापकोटा अर्याल र मित्र कुमारी खनाल रहेका छ्न्।

नगरपालिकाभित्र संचालनमा रहेका सहकारीका संचालक र कर्मचारीहरूको संयुक्त भेलाले सहकारी संघको गठन गरेको जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लेखबहादुर के।सीले जानकारी दिए।

जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलको उपस्थितिमा गठन भएको सहकारी संघले भीरकोटमा रहेका सहकारीहरूको छाता संगठनको रूपमा काम गर्नेछ।

गठन कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष पौडेलले सहकारीको दर्शन, मुल्यमान्यता अनुसार सहकारी संचालन गर्न सके सहकारीको अधिकांश समस्या आँफै समाधान हुने बताए।

नवगठित सहकारी संघका अध्यक्ष तोयानाथ अर्यालले सहकारीबिच एकता कायम गर्दै सहकारी विरोधी तत्वका विरूद्ध एक भएर लड्नका लागि सहकारी संघ गठन गरिएको बताए।

सहकारी संघका सल्लाहकार संयोजक एवं पूर्वनगर प्रमुख छायाराम खनालले सहकारीका समस्या सम्बन्धमा भेला अन्तरक्रिया नियमित हुनुपर्ने र सहकारीको संकटर समस्या समाधान गर्न सदस्यहरूलाई शिक्षा सचेतना दिनुपर्ने बताए।

सहकारीकालाई व्यवस्थित बनाउन सहकारीका मूल्य मान्यता बमोजिम संचालन गरेर वास्तविक गरिब, किसान र मजदुरको जीवनस्तर उकास्ने काम गर्नुपर्ने उनको भनाइ छ । सहकारीलाई उत्पादनसँग जोड्ने, उत्पादन कार्यमा लागेका किसानहरूलाई सहकारीमा जोड्ने अभियानले मूर्त रूप पाए मात्रै सहकारी सफल हुने उनको बुझाई छ।

सहकारी संचालकहरूको भेलाले पालिका स्तरीय सहकारी संजाल गठन गर्ने, सहकारीका समसामयिक समस्या र विविध विषयमा छ्लफल र निरूपण गर्ने, सहकारीमा देखिएका समस्या सकेसम्म आँफै समाधान गर्ने र आवश्यकता अनुसार सहयोगका लागि नगरपालिकामा अनुरोध गर्ने, सहकारी विभाग र स्थानीय तहले जारी गरेका निर्देशन पालना गर्ने गराउने निर्णय गरेको छ।

भेलाले सहकारीका मूल्य मान्यतालाई कडाइका साथ पालन गर्ने गराउने र सहकारीका ॠणी सदस्यहरूलाई नियमित ऋण तिर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ। सहकारी भेलाको सहजीकरण एवं संचालन जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष लेखबहादुर के.सी. ले गरेका थिए।