बजारमा माग नबढ्दा व्यवसाय प्रभावित


काठमाडौं । उद्योगी–व्यवसायीहरुले बजार माग नबढ्नाले कारोबारमा कमी आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’सम्बन्धी तेस्रो सर्वेक्षणमा उद्यमीहरूले कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकोले कठिनाइ भएको बताएका हुन् ।

अध्ययनमा सहभागीमध्ये सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेको, चालू खर्च धान्न समस्या रहेको र श्रमिकसँग सम्बन्धित समस्याको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । 

उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले उद्योग/व्यवसाय बिक्री गरेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएको अध्ययनमा उल्लेख छ ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि २०७६ चैतमा लगाइएको लकडाउनका कारण २०७७ वैशाखमा ६१ प्रतिशत उद्योग–व्यवसाय बन्द भएकामा अझै २ प्रतिशत उद्योगहरू पूर्ण रूपमा बन्द छन् । २०७७ वैशाखमा आंशिक सञ्चालनमा रहेका उद्योग–व्यवसायको अनुपात ३५प्रतिशत रहेकोमा २०७८ कात्तिकमा अझै १०.४ प्रतिशत उद्योग–व्यवसाय आंशिकमात्र सञ्चालनमा छन् ।

१५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका साना र ५० करोड रुपैयाँसम्म पुँजी भएका मझौला उद्योग–व्यवसायमध्ये अझै क्रमसः १८.४ र १६.३ प्रतिशत व्यवसाय आंशिकमात्र सञ्चालनमा छन् ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।