मौद्रिक नीतिको समिक्षामा सिडी रेसियो र ४/१२ को सिमा परिर्वतन भएन


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षामा सिडी रेसियो र सेयर धितोमा कर्जा सीमा (४÷१२)को व्यवस्थामा कुनै परिर्वतन गरेको छैन ।

लगानीकर्ताले सेयर धितो कर्जाको विद्यमान व्यवस्था खारेज गर्न माग गरेपनि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्थालाई यथावत राखेको हो ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ । नीतिमा ४ करोड बढी लिन चाहनेले अरू दुईवटा बैंकबाट ४÷४ करोड गरी १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था गरिएको छ ।

गत साउनमा मौद्रिक नीतिमार्फत सेयर कर्जा धितोमा ४ १२ को क्याप लगाएपछि सेयरबजार निरन्तर ओरालो लागेको छ । लगानीकर्ताहरुले उक्त व्यवस्था परिर्वतन गर्नुपर्ने माग राख्दै राष्टबैंक घेराउ तथा धर्ना कार्यक्रम समेत गरेर दवाव दिने काम गरेका थिए ।

सेयर बजारमा लगानीकर्ताहरुको धेरै अपेक्षा थियो कि पहिलो त्रैमासको समिक्षा हुँदा ४ १२ को कर्जा सीमामा पक्कै केही हेरफेर हुनेछ तर यसो भएन जसले गर्दा अबको सेयरबजार पुन प्रभावित नै हुने लगानीकर्ताहरुको भनाई छ ।

पछिल्लो समय केही स्वार्थ समुहले उक्त व्यवस्था खारेज गराउनका लागि पहल गरेपनि त्यस्ता समहुको स्वार्थमा राष्ट्र बैंक नचल्ने गभर्नर महाप्रसाद अघिकारीले बताउँदै आएका थिए ।