साताको पहिलो दिन नेप्सेमा ७२ अंकको गिरावट, लगानीकर्ता भन्छन्, ‘राष्ट्र बैंककाे सेयर कर्जा सीमा मूल कारक’


काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर बजारमा ७२ अंकको गिरावट आएको हो । राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सीमाका कारण बजारमा चर्को गिरावट आएको लगानीकर्ता बताउँछन् ।

मौद्रिक नीतिको समिक्षा हुँदा धेरै लगानीकर्ताको आशा थियो कि ४ १२ को क्याप नहटेपनी केही हेरफेर हुन्छ भन्ने तर त्यस्तो हुन सकेन जसको कारण लगानीकर्तामा निराशा छाएको पनि एक लगानीकर्ताले बताए ।

आइबार नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८९ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटीभ परिसूचक पनि १४.१५ अंकले घटेर ४७३.३७ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुह घटेका छन् । आज सबैभन्दा धेरै जीवन बिमा समुह ४.५४ प्रतिशतले घटेको छ भने उत्पादन समुह सबैभन्दा थोरै २.०८ अंकले घटेको छ ।

आइतबार कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ६२ लाख ८४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
यस दिन आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।फाइनान्सको सेयरमूल्य ८.३२ प्रतिशतले घटेको छ ।

कूल २२६ वटा कम्पनीको ८९ लाख २० हजार ८ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।