‘कृषि तारा’ अवार्ड धादिङका युवा कृषक न्याैपानेकाे पाेल्टामा


काठमाडौं । दाेस्राे ‘कृषि तारा’ अवार्ड धुनिवेशी ५, धादिङका युवा कृषक युद्ध न्याैपानेले प्राप्त गरेका छन् । इजरायलमा शीप सिकेर नेपालमा कृषि उद्यम गरिरहेका कृषकलाई लक्षित गरिएकाे अवार्डमा अन्तिम १० प्रतिस्पर्धीबाट न्याैपाने छानिएका हुन् ।

बिहीबार राजधानीकाे हाेटेल मेरियटमा आयोजित एक कार्यक्रमकाबीच कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले विजेतालाई अवार्ड हस्तान्तरण गरेका हुन्। कार्यक्रम इजरायली दूतावास र अवसर फाउण्डेशनकाे संयुक्त आयोजनामा सम्पन्न भएकाे हाे।

साना किसान विकास बैंकले हरेक वर्ष इजरायली दूतावासकाे सहयाेगमा कृषक युवाहरूलाई पढ्दै कमाउदै कार्यक्रममा इजरायल पठाउँदै आएकाे छ । साे कार्यक्रममा सहभागी भई तालिम लिएर फर्केका युवालाई प्राेत्साहन गर्न गत वर्षदेखि कृषि तारा अवार्ड आयोजना गर्न थालिएकाे हाे।

नेपाल फर्केर कृषि कर्म गरिरहेका दर्जनाैं युवाहरूमध्ये दश युवा कृषक छानिएका थिए । ७० बिघा जमिनमा कृषि गरिरहेका न्याैपानेले अवार्डसँगै रू पाँच लाख नगद प्राप्त गरेका छन् ।

‘‘जुन विश्वासका साथ मलाई विजेता बनाउँनु भएको छ, म त्यो विश्वास कहिले पनि गुम्न दिने छैन,’’ अवार्ड प्राप्त गरेपछि कार्यक्रममा बाेल्दै उनले भने, ‘‘यो पैसाले म राम्रो नर्सरी संचालन गर्छु ।’’

उत्कृष्ट दशमा अनिल दमाई, दीप नारायण राउत, नवीन जोशी, ससिन कर्माचार्य, सङ्कर सिलवाल, विजय गाउली, प्रवीण राजवंशी, रामहरि रोइला र बाबुराम केसी छन् । उत्कृष्ट लाई प्रमाणपत्रसहित सम्मान गरिएकाे छ ।

कार्यक्रममा बाेल्दै कृषि मन्त्री यादवले इजरायले मात्र ३ प्रतिशत जनताकाे संलग्नताले मात्र पनि कृषिमा फड्काे मारेकाेप्रति प्रशंसा गरे । उनले असल मित्रकाे रूपमा रहेकाे इजरायलकाे कृषि प्रविधि नेपालमा भित्र्याउन सरकार प्रतिवद्ध रहेकाे चर्चा गर्दै सहयाेगका लागि इजरायल सरकारलाई अनुराेध गरे।

नेपालका लागि इजरायली राजदूत हानन गोदरले कृषि शाेखकाे विषय नभइ व्यापार र जीवनयापनकाे विषय भएकाले यसकाे महत्व अधिक रहेकाे चर्चा गर्दै नेपालकाे कृषि विकासमा इजरायलले सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे । कडा मेहनत र आधुनिक प्रविधिले इजरायल सफल भएकाे बताउदै उनले सरकारले उपयुक्त नीति लिएर लागू गरेमा नेपालले कृषि उपज निर्यात गर्न धेरै समय नलाग्ने बताए ।