७५३ स्थानीय तहका उत्पादन एउटै थलाेमा बिक्री गर्दै माैलिक बजार


काठमाडौं । स्थानीय तहमा स्वदेशी उत्पादनलाई प्रवर्दन गर्न स्थानीय तहमा “एक खरिदबिक्री केन्द्र–एक अर्गानिक जोन” (मौलिक भान्छाघर) र “एक योगा केन्द्र” सञ्चालन गरिने भएको छ।

देशभरका स्थानीय तहमा स्वदेशी उत्पादन प्रवर्दनसहित स्वदेशी आयुर्वेदिक बस्तु तथा स्वस्थकर खाद्यबस्तु बिक्री तथा स्वस्थ जीवनका लागि योगा सञ्चालन गर्ने गरी वल्ड मार्ट युनिट सोलुसन प्रा.लि. (मौलिक बजार), योग प्रेमी परिवार नेपाल र अर्गानिक जोन (रेष्टुरेन्ट) बीच सम्झौता भएको हो।

तीनवटै संस्था संयुक्त रुपमा आफ्ना उत्पादन र सेवालाई देशभर क्रमशः स्थानीय तहसँग समन्वय गरेर बिस्तार गरिने मौलिक परिवारका सञ्चालक सुमन दाहालले बताए। काठमाडाैंकाे कपनमा स्थापित माैलिक मार्टमा ७५३ वटै स्थानीय तहका उत्पादन संकलन गर्न थालिएकाे र छिटै नै माैलिक मार्टकाे औपचारिक शुरूवात गरिने उनले बताए ।

“स्वदेशी, आयुर्वेदिक खाद्य, मौलिक एवंम स्थानीय वस्तुको प्रयोग र प्रवर्दन दीर्घकालीन स्वास्थ्य, सौन्दर्य एवंम राष्ट्रिय अर्थतन्त्रका लागि फेमिलियर अभियान” भन्ने नाराका साथ स्थानीय उत्पादन संकलन, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणका लागि सम्झौता गरिएको दाहालले बताए।

फेमिलियर नमुना परियोजना अन्तर्गतको मौलिक बजार, योग प्रेमी परिवार नेपाल, फेमिलियर परियोजना अन्तरगतकै मौलिक भान्छाघर र अर्गानिक जोनबीच छुट्टाछुट्टै सम्झौता भएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले यो सम्झौताले देशभर एक स्थानीय तह एक खरिदबिक्री केन्द्र, एक योग केन्द्र र एक अर्गानिक जोन (मौलिक बजार) सञ्चालनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्वदेशी बस्तु प्रयोगलाई पनि वढवा दिने बताए।

“मानिस पुर्ण स्वस्थ्य हुनका लागि शुद्ध खानपान र योग महत्वपुर्ण हुन्छ, यसका लागि हाम्रा गाउँ गाउँमा उत्पादन हुने मौलिक एवंम स्थानीय उत्पादनको बजारीकरणमा क्रियाशील मौलिक बजार, मौलिक उत्पादनलाई परिकार बनाएर मेनुमा राखेर मौलिक भान्छाघर तथा अर्गानिक जोनको निकै उत्कृष्ट काम हो, सबै स्थानीय तहले यसलाई प्रोत्साहन गर्नुपर्छ,” उनले भने।

वल्डमार्ट युनिक सोलुशनका सञ्चालक दाहालले आयातित विषादीयुक्त दैनिक उपभोग्य खाद्यन्न एवंम तरकारी र फलफुलले मानिसमा विभिन्न किसिमका रोगसँगै वर्षेनी अर्बौ रुपैँया विदेशिने गरेकोले यसलाई कम गर्दै जान मौलिक बजार परिकल्पना गरिएको बताए।

मौलिक बजारको मुख्य उद्देश्य उत्पादकबाट सिधै उपभोक्तासामु पुर्याउनु र विचौलियाको अन्त्य गर्ने भएको उनले बताए । उनले भने ,”आम मानिसको व्यस्त दिनचर्या र खानपानका कारण रोग बढ्दै गएको समयमा दैनिक योग, भान्छामा सुधार, स्वस्थ्यकर उत्पादनको प्रयोग सहितको आहार विहार आजको आवश्यकता छ ।”

अर्गानिक जोन (मौलिक भान्छाघर) का सञ्चालक दिपक बुढाले “जस्तो खाना त्यस्तै सोच, जस्तो सोच त्यस्तै व्यवहार” हुने भन्दै शुद्ध र अर्गानिक खाना खानुपर्ने र यसका लागि स्ववदेशी उत्पादन नै फलदायी हुने बताए।

उनले गाउँ गाउँको आफ्नो उत्पादनको बजारीकरणका लागि प्रत्येक स्थानीय तहमा मौलिक बजार र अर्गानिक जोन स्थापना आजको आवश्यकता भएको बताए।

योगप्रेमी परिवार नेपालका अध्यक्ष खेतराज मैनालीले योगले मानिसको शारीरीक तथा मानसिक रुपमा स्वस्थ्य र तनाव रहित बनाउने भएकोले हरेक दिन योग गर्नुपर्ने बताए।

स्वस्थ्य रहन योगासँगै खानपानका पनि निकै महत्वपुर्ण हुने हदाँ मौलिक बजार र अर्गानिक जोन(मौलिक भान्छाघर) को संयुक्त प्रयासलाई अभियान बनाएर जाने प्रतिबद्धता व्यक्त गरे।