डेरी उद्योगका चुनौतीहरू र भविष्यको बाटो


अनौपचारिक क्षेत्रले आफूलाई आवश्यक पर्दा हामीले दिने मूल्य भन्दा बढी दिएर किसानको दुध खरिद गर्यौं र आवश्यक नपर्दा किन्न छाड्ने गर्दा त्यसको भार पुनः औपचारिक क्षेत्र अर्थात् हामीले भोग्नु पर्ने अवस्था अब रहनु हुुँदैन ।

राजकुमार दाहाल, अध्यक्ष, डेरी उद्याेग संघ

नेपालको दुग्ध क्षेत्रको तत्कालको अवस्था हेर्दा दुध नपुग्ने अवस्था छ । आजकै दिनसम्म । तर अबका दिनमा दुधको उत्पादन बढी हुने र खपत कम हुने सिजन आउँदैछ । किसानले दुध पोखेको जस्ता समस्या वर्षेनि देखिने गरेका छन् । यस्ता घटनामा केही सत्यतामा आधारित पनि छन् । उत्पादित दुध बजारमा खपत नहुने र बिक्री भएको दुधलाई पाउडर बनाएर राख्दा यसको लागत बढ्छ ।

वर्षमा एक सिजन धेरै र एक सिजन कम उत्पादन हुने गर्दछ । दुधलाई कन्भर्जन गरेर पाउडर बनाएर राख्ने र पुनः दुध बनाएर बिक्रीगर्ने अवस्थामा ल्याउँदा लागतमा २१ प्रतिशतसम्म वृद्धि हुने गर्दछ । यसको अर्थ ५० रुपैया खरिद मूल्य छ भने दुध कन्भर्जन गर्दा लागत नै ६० रुपैया प्रति लिटर भन्दा बढी पुग्छ । यो समस्या आजको हैन । पहिलेदेखिकै समस्या हो ।

त्पादन बढी हुुँदा स्टक गरेर राख्न समस्या हुने र कम उत्पादन हुँदा बजारको माग धान्ने समस्या हुने अवस्था अद्यापि छ । झोल दुधलाई पाउडर र बटर बनाएर पुनः झोल दुध बनाएर बिक्रीगर्नाले लागत नै नउठ्ने अवस्था आउँछ र डेरी उद्योगहरूले जहिले घाटाको व्यापार गर्नुपर्ने अवस्था आइरहेको छ । 

यो ज्वलन्त समस्या हो । उद्योगीले किसानको दुध जसरी पनि किन्नुपर्ने बाध्यता हुन्छ । उद्योगीले दुध नकिनेपछि किसान पेसाबाट पलायन हुने अवस्था आउँछ । यसो हुँदा पनि पुनः उद्योगमै असर पर्छ । तत्कालीन अवस्थामा बढी भएको दुधलाई कन्भर्जन गरेर समस्या समाधान गर्ने प्रयास वर्षेनि गरेकै छौं । तर यो दीर्घकालीन समस्याको समाधानको उपाय हैन ।

किसानले दुध कम उत्पादन हुँदा पनि उपलब्ध गराउँछन् भन्ने आधारमा बढी हुँदाको दुध सधैँ हामीेले मात्र किनेर कन्भर्जन गर्न थाल्ने हो भने उद्योग क्षेत्र डुब्ने पक्का छ । र, यहाँनेर बुझ्नु पर्ने कुरा यो छ कि हामी अर्थात् औपचारिक क्षेत्रका उद्योगीहरूले बढी उत्पादन हुँुदा कम लिएको वा नलिएको कारण किसानको दुध बचत भएको भने हैन ।

अनौपचारिक बजारमा गइरहेको दुध माग कम हुने समयमा ती साना डेरी वा अनौपचारिकरूपमा किन्नेहरूले किन्न छाड्छन् र सो हिस्साको दुध बचत हुने हो । वर्षभरी हामीलाई दुध दिइरहेको किसानले अन्यत्र नबिकेको दुध पनि हामीलाई किन्न आग्रह गर्छन् र हामीले किसानको मुख हेरेर किन्ने हो । हामीले वर्षेनि मिल्क होलिडे हुन बाट रोक्ने प्रयास गरिरहेका छौं ।

दुई सिजनमा मूल्य समायोजन र कन्भर्जन प्रवद्र्धन

अनौपचारिक क्षेत्रले आफूलाई आवश्यक पर्दा हामीले दिने मूल्य भन्दा बढी दिएर किसानको दुध खरिद गर्यौं र आवश्यक नपर्दा किन्न छाड्ने गर्दा त्यसको भार पुनः औपचारिक क्षेत्र अर्थात् हामीले भोग्नु पर्ने अवस्था अब रहनु हुँदैन । अफ सिजनको बढी दुध भार हामीले ब्यहोर्नु पर्ने अवस्था नै हाम्रा लागि अहम् सवाल हो । कुल दुध बजारको २० प्रतिशत हिस्सा औपचारिक क्षेत्रको छ ।

हामी जहिले पनि किसानको समस्याप्रति चिन्तित भएर किसानलाई निराश हुन दिएका छैनौं । तर दुध बढी हुँदा सबै हाम्रै थाप्लोमाथि आउने र कम उत्पादन हुँदा हाम्रो हिस्साको दुध पनि अनौपचारिक क्षेत्रमा जाने अवस्था सधँै रहनु हुँदैन । यो नेपालको दुग्ध क्षेत्रको हेर्दा सामान्य लाग्ने तर कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान गर्ने दुग्ध क्षेत्रको नियमनको सवाल हो । यसमा सबै पक्षको उत्तिकै गाम्भीर हुन आवश्यक छ । यो कुरामा राज्यको विशेष ध्यान जानुपर्ने देखिन्छ ।

राज्यले सिजनेबल उत्पादन हुन्छ, लिन सिजन र फल्स सिजन हुन्छ भन्ने राज्यलाई थाहा छ । तर यसको व्यवस्थापन गर्ने पहलकदमी कहीँंकतैबाट भएको छैन । लिन सिजनको दुध जसले गोदाम गरेर राख्छ त्यसलाई आकर्षित गर्ने प्याकेज सरकारले दिनुपर्छ । यसो हुँदा किसानको दुध निरन्तर बिक्रीहुने अवस्था हुन्छ ।

बढी भएको दुधलाई कन्भर्जन गर्दा लाग्ने लागत घटाउन सरकारको भूमिका हुनुपर्छ । कन्भर्जन गर्ने उद्योगलाई प्रवद्र्धन गरिनुपर्छ । मूल्य निर्धारण पनि फल्समा कम र ड्राइमा बढी मूल्य गर्ने व्यवस्था हुुनुपर्छ । स्टक भएको उत्पादनको मूल्य बढ्ने ग्यारन्टी गर्नुपर्छ, कन्भर्जन गर्नका लागि यसले सहयोग गर्छ । विद्युत सहुलियत दिुनपर्छ । यसो हुँदा दुग्ध बजारको भविष्य सहज हुन्छ ।

गुणस्तरको सवाल

दुग्ध उद्योगको क्षेत्र प्रत्यक्ष उपभोक्तासँग सम्बन्धित छ । त्यसैले हामीले बजारमा पठाउने दुध, दही, घ्यु, मही, बटर तथा दुधमा आधारित अन्य उत्पादनहरू चीज, पनिर, आइसक्रिम लगायतका उत्पादन गुणस्तरीय हुनुपर्छ भन्नेमा हामी सजग छौं । सरकारले तोकेको मापदण्ड पूरा गरेर हामी गुणस्तरीयता कायम गर्न प्रतिबद्ध छौं । तर गुणस्तरीयता कायम गर्ने विभिन्न व्यक्ति तथा निकायहरूको भूमिका रहन्छ । गोठदेखि ओठसम्मको मूल्य शृङ्खलामध्ये हामी उद्योगी एक पक्ष हौँ बाँकी पक्ष सुधार गर्न पनि हामीले सक्ने भूमिका निर्वाह गरेका छौँ । 

किसानले गाई भैँसी पाल्ने गोठको गुुणस्तर, गाईभैँसीले खाने दाना र घाँसको अवस्था, उपचारमा प्रयोग हुने औषधीहरू, दुध दुहुँदा अपनाउनुु पर्ने सरसफाई, मिसावट हुनबाट रोक्नुपर्ने अवस्था, सङ्कलन केन्द्रको सरसफाइ र उपकरणको अवस्था, कोल्ड स्टोरको अवस्था, उद्योगमा गरिने प्रशोधन र बजारमा पठाइने प्रक्रियाहरू लगायतका अवस्थाहरू सबैतिर स्वस्थ्य दुध उत्पादनका लागि प्रतिबद्धता र आवश्यक कार्यक्रम तथा नियमन, अनुगमनसमेतको अवस्थाले सुधार्ने हो भने गुणस्तर सुधारमा मद्दत पुग्दछ ।

केही समयअघि झोल दुधमा मिसावटको प्रश्न उठेका थिए । कतिपय अवस्थामा उद्योगदेखि फार्मसम्म कमजोरीहरू नभेटिएका हैनन् । तर उद्योग क्षेत्रमा धेरै नै सुधार भइसकेको छ । किसानले पनि धेरै नै सजगता अपनाएको पाइन्छ । यद्यपि सुधारको निरन्तरताका लागि रहनुपर्ने हुन्छ । पाउडर दुधमा पनि अहिलेसम्म गुणस्तरीयतामा प्रश्न उठेको छैन् ।

नेपालमा उत्पादित पाउडर दुध गुणस्तरीय र मिसावटरहित पाइएका छन् । खुला सीमानाका कारण कहिलेकाहीँ गुणस्तरहीन पाउडर बाहिरबाट आयात हुँदा भने यहाँका उद्योगी र उपभोक्ता दुवैले समस्या भोग्नु पर्ने अवस्था आउन सक्छ । यो क्षेत्रलाई नियमन गर्ने कृषि तथा पशुपञ्छी विकास मन्त्रालय र मातहतका निकायले नियमित अनुगमन बढाउने र औपचारिक क्षेत्रको दुध तथा दुग्ध पदार्थ थप सुधारका कार्य गर्नुपर्ने हुन्छ। 

अनौचारिक कारोबारको नियमन

औपचारिक क्षेत्रलाई मात्र हेरिरहेको सरकारी निकायले करिब ३० प्रतिशतको हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने हुन्छ । औपचारिकरूपमा पास्चराइज गरेर दुध तथा दुग्ध पदार्थ उत्पादन गरिरहेका सातै प्रदेशका उद्योगहरू आफैमा कम क्षमतामा चलिरहेका छन् । दुध अनौपचारिकरूपमा छरिएको भने कहीँकतै समस्या भयो भने गाली खानुपर्ने हामी औपचारिक क्षेत्र नै हुन्छौँ ।

सरकारले ढिला नगरी अनौपचारिक क्षेत्रको दुग्ध कारोबारलाई औपचारिक क्षेत्रमा ल्याउनुु पर्ने हुन्छ । नियमन गर्नुपर्ने हुन्छ । एकातिर भएका उद्योग क्षमतामा नचल्ने र बिना अध्ययन नयाँ उद्योग खुल्ने काम भइरहको छ । यो पनि राम्रो हैन । राज्यको ध्यान पुुग्नु पर्छ । 

एकातिर भएका उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् भने साना डेरीहरूले लगानी गर्न सकिएन भन्दै अनौपचारिकरूपमा दुध तथा दुग्ध पदार्थ बेचिरहेका छन् । हामी साना डेरी बन्द गर्नुपर्छ भन्दैनौँ तर आवश्यक समन्वय गर्न सकियो भने अनौपचारिक क्षेत्रमा रहेको दुधलाई पनि प्रशोधन गर्न सकिन्छ । यसका लागि पूर्ण क्षमतामा चल्न नसकेका उद्योगले साना डेरीहरूको दुध उनीहरूकै ब्राण्डमा प्रशोधन गरिदिने व्यवस्था गर्नुपर्छ ।

यसो गर्दा साना डेरीले पनि ठूला उद्योग खोल्न थप लगानी गर्नु परेन भने उनीहरूले पनि पास्चराइज गरिएको गुणस्तरीय उत्पादन उपभोक्तालाई खुवाउन सक्छन् । तर यसमा सरकारले निश्चित मापदण्ड बनाएर भएको उद्योगको सदुुपयोग र अनौपचारिक बजारलाई औपचारिकमा ल्याउने प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । राज्यले नै पास्चराइज वा कन्भर्जन चार्ज तोकोस्, हामी मान्छौँ । सबैलाई राखेर सम्बन्धित निकायले छलफल गर्नुपर्छ, हामी तयार छौं । (लेखक डेरी उद्योग संघका अध्यक्ष हुन्)

(टक्सार म्यागजिन, मंसिर २०७८ मा प्रकाशित)