यी पाँच जना मध्ये को बन्ला नेप्सेको प्रमुख कार्यकारी अधिकृत


काठमाडौं । सर्वोत्तक शेयर खरिद प्रकरणमा तानिएपछि नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदले राजीनामा दिएपछि रिक्त भएको नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा पदपूर्ति हुने भएको छ ।

लामो समयदेखि रिक्त रहेको सेयर बजारको रेगुलेटर नेपाल स्टक एक्सचेन्जका सिइओको लागि पाँच जनाको नाम सर्टलिस्ट भएको छ ।
नेप्सेको प्रमुख कार्यकारी नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले आवेदन दिएका ११ जनामध्येबाट ५ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको हो ।

प्राप्त हुन आएका दरखास्त साथ उम्मेदवार/आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनौट गरिएको सिफारिस समतिले जनाएको. छ ।

कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि कृष्णबहादुर कार्की, डा. केशबप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारी छनौट भएका हुन् ।

उनीहरुलाई पुस २५ गते आइतबारका दिन दुई चरणमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि अर्थमन्त्रालयको सुवर्ण हलमा बोलाइएको छ ।

नेप्सेमा प्रमुख कार्यकारी अघिकृत बन्नका लागि नेप्सेका कर्मचारी निरन्जन फुयाल र प्रविण पन्दाक, डा जिवन अम्गाइ, डा केशव श्रेष्ठ डा रमेशकुमार भण्डारी, बद्रिप्रसाद प्याकुरेल, कृष्णबहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे गरि ११ जनालले आवेदन दिएका थिए ।

नेप्सेको प्रमुख कार्यकारीका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजीबजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। आवेदक ३० बर्ष पुरा भइ ६० ननाघेको हनु पर्नेछ ।

सिफारिस समितिले यिनै ५ जनामध्ये उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा ३ जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका नाममध्येबाट एकजनालाई मन्त्रीपरिषद्ले नेप्सेको प्रमुख कार्यकारी अधिकृत बनाइनेछ ।