तरलतामा समस्या समाधानउन्मुख: अर्थमन्त्री शर्मा


काठमाडौं । नेपालको अर्थतन्त्र समाचारमा आएको जस्तो खराब नभइसकेको अर्थमन्त्री जर्नादन शर्माले बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को दोस्रो साधारण सभामा अर्थमन्त्री शर्माले तरलता समस्या समाधान हुँदै गइरहेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै व्यवसायीले धेरै क्षेत्रमा लगानी गर्न खोज्दा तरलतामा केही समस्या भएको र त्यसलाई समाधान गरेर अगाडी बढ्दै जाने मन्त्री शर्माले बताए । उनले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७१ प्रतिशत रहेकोमा बैंकिङ क्षेत्रको १८ देखि २० प्रतिशत योगदान रहेको बताए।

“निजी क्षेत्र आयातमुखी नभई उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ लाग्नु पर्छ,” उनले भने, “निजी क्षेत्रको प्रगति भए मात्र देशको प्रगति हुन्छ त्यसकारण निजी क्षेत्रले उत्पादनमुखी बाटो अपनाउनुपर्छ।”

”जनताले राखेको निक्षेपमा मात्र बैंकहरु केन्द्रित हुने हो?,” अर्थमन्त्री शर्माले प्रश्न गरे । संकट परेको बेला नाफा कमाउनुपर्छ भन्ने नभएको तर्क गर्दै बैंकिङ क्षेत्रको कर कम गर्न सकिने उनले सुझाए।

संकटको बेला बैंकले ब्याज बढी लिने र व्यवसायीले बढी नाफा लिएकाले समस्या सिर्जना भएको उनको भनाई छ। आफ्नै लगानीबाट खुलेको बैंकले आफैलै ॠण लिने परिपाटी विशिष्टिकृत नभएको उनले बताए। आफैले आफैँलाई लगानी गरेकोप्रति परिसंघले ध्यान दिनु पर्ने उनकाे भनाइ छ।

पूँजीगत खर्च अर्थमन्त्रालय आफैँले गर्न नसक्ने त्यसतर्फ अर्थमन्त्रालयले सहजीकरण गरिराखेको उनले बताए । उनले बैंकहरुले अस्वस्थ प्रतिस्पर्धा गरेकाले सीबीफीनलाई नियमन गर्न आग्रह गरेका छन् ।

“बैंकहरुकै अस्वस्थ प्रतिस्पर्धा छ एउटा बैंकले १ रुपैँया बढी दिन्छु भन्छ अर्को २ रुपैँया बढि दिन्छु भन्छ । निक्षेपकर्ता नै भुक्किएका छन् बैंकको अस्वस्थ प्रतिस्पर्धा सीबीफीनले नियमन गर्नुपर्छ,” अर्थमन्त्री शर्माले भने ।

सीबीफीनका अध्यक्ष पवन गोल्यानले जुन वस्तुमा सरकारले संरक्षण दिन्छ त्यसमा राम्रो विकास हुने बताए । “फलाम, सिमेन्ट लगायतका वस्तुमा सरकारले राम्रो नीति बनाएका कारण विकास भएको छ,” उनले भने ।

उनले कोभिड कर १५ प्रतिशत लगाएर आयात प्रतिस्थापन गरेर उद्योगमा लगानी गर्न सुझाव दिएका छन् । ”बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशत कर लगाएर राजस्व के हुन्छ मन्त्री ज्यू?,” प्रश्न गरे । कर घटायो भने राजस्व घट्छ भन्नु उचित नभएको उनले तर्क गरे ।

उनले बैंकहरुको संस्थापक सेयर बेच्न पाउनुपर्ने बताएका छन् । “संस्थापक सेयरलाई पब्लिकमा लग्यो भने राम्रो हुन्छ,” उनले भने, “यसले बलियो, राम्रो र झन् माथि जान्छ ।” उनले बैंक र निजी क्षेत्र हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता व्यवस्थापन, शोधानान्तर घाटा सहज विषय नभएको बताए । ”सहज भएको भए पहिले नै समाधान हुने थियो,” गोल्छाले भने, ”तरलता अभावको प्रमुख कारण पूँजी खर्च नहुनु नै हो ।”

राष्ट्र बैंकले रेमिट्यान्सलाई सही सदुपयोग गर्न नसकेको अध्यक्ष गोल्छाले बताए । रेमिट्यान्स जबसम्म बैंकमा आउँदैन तबसम्म तरलता अभाव सहज नहुने उनले तर्क गरे । तरलता संकट रहेको समयमा नै बैंकले आक्रामक लगानी गरेकाले बैंक पनि दोषी रहेको उनले बताए ।

उनले आयात प्रतिस्थापन गर्न गोल्यानले भनेजस्तै १५ प्रतिशत कोभिड कर ग्राहकले तिर्न अहिलेको अवस्थामा उक्त कर तिर्ने क्षमता ग्राहकमा नभएकाले त्यो कर लगाउन नहुने बताए।