मंगलबार ३० अंकले घट्यो नेप्से, साँढे ४ अर्ब रुपैयाँ माथिको कारोबार


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक मंगलबार ३०.५६ अंकले घटेर २०७०.५९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयर मूल्य घटेको छ । मंगलबार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३२ करोड ५० लाख ४५ हजार ७२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.७० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर किनेबच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।