ओभर फाइनान्सिङ गरेका कारण समस्या आयाे: गभर्नर अधिकारी


काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूले ओभर फाइनान्सिङ गरेका कारण समस्या आएकाे बताएका छन् ।

सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुको लगानी बढी भयो भन्ने विषयमा बोल्दा प्रश्नहरु उठेकाे र त्यो बेलाको ओभर फाइनान्सिङ, व्यक्तिगत लेभलमा ओभर कर्जा हामी भित्रको सबै भन्दा ठूलो समस्या भएकाे बताएका हुन् ।

“कसैलाई दोष दिने ठाउँ छैन । बैंकका ग्राहकहरुले पनि आफ्नो घाँटी अनुसारको काम गरिदिएको भए । बैंकहरुले पनि कर्जा दिने क्षमता यति हो यहाँ भन्दा बढी जानुहुँदैन भनेर सोचिदिएको भए । अहिले बैंकहरुलाई समस्या पर्ने थिएन । ग्राहकहरुलाई समस्यामा पर्नुमा राष्ट्र बैंक पनि दोषी छ,” उनले भने, “यो वर्ष बैंकहरुको खराब कर्जा बढेको वर्ष हो । बढेको भन्दा पनि बैंकहरुको वास्तविकता बाहिर आएको वर्ष हो । बैंकिङ प्रणाली एकदमै पारदर्शी छ ।”

पुरानो कर्जा तिर्ने प्रयोजनको लागि थाहा नपाइ लिमिटहरु राखेर पनि थप कर्जा लिएर ऋणीहरुले कर्जा तिर्ने अवसर पाएकाे र चालुपुँजी कर्जा मार्ग निर्देशन आएपछि त्यो अवसर नरहेकाे उनले बताए ।

उनले आर्थिक गतिविधि कमजोर भएको कारण कर्जा असुलि कमजोर भएको अवस्थामा चालुपुँजी कर्जा मार्ग निर्देशन लागू हुदाँ थप बल पुगेकाे जानकारी दिए ।

अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गरेका छन् । उनले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिवद्धता जनाए ।

राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको उल्लेख गरे ।

गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको उल्लेख गरेका छन् । राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने जानकारी दिए । उहाँले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आएपनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग संयन्त्र रहेको दाबी गरेका छन् । 

गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताए । ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाई छ । उनले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

गभर्नर अधिकारीले १४ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताए । उनले  विदेशी मुद्रा सञ्चितिले बैंकको तरलतामा सहजता ल्याएको र राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

गभर्नर अधिकारीले विगतमा बैंकहरुबाट ग्राहकहरुले ऋण लिनेले क्षमताभन्दा बढी ऋण  लिएका कारण हालको समस्या निम्तिएको धारणा राखे ।

गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्वदेखि बैंक बुझ्ने धेरैले बैंक अराजक,सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताए । नेपालका कुनैपनि बैंकहरु अराजक,सामन्ती र मिटरब्याजी भएको नपाएको उनले दाबी गरे ।