कोभिड खोपले जन्माएका नौ नयाँ अर्बपति


कोभिड खोपले नौ नयाँ अर्बपति जन्माएको छ । तिनीहरू सबैको कुल सम्पत्ति विश्वका गरिब देशहरूमा खोप दिइरहने लागत मूल्यभन्दा धेरै रहेको छ ।

अनुप आचार्य

कोभिड–१९को अवधिमा विश्वका अर्बपतिहरूको सूचीमा कम्तीमा नयाँ नौ नाम थपिए । कोभिड विश्वव्यापी महामारी सुरु भएयता सबैभन्दा बढी मुनाफा कम्पनी औषधि बनाउने कम्पनी फर्मास्युटिकल कम्पनीहरू रहेको देखिए खोप बनाउने कम्पनीहरूले खोप बनाउने एकाधिकार पाइ मुनाफा पाएर अर्बपति बनेको द पिपुल्स भ्याक्सिन अलाइन्सले विश्वका शक्तिशाली बीस देशहरूको समूह जी ट्वेन्टीले आयोजना गरेको विश्व स्वास्थ्य शिखर सम्मेलन हुनअघि खुलासा गरे । 

यो शिखर सम्मेलनका प्रमुख सदस्य देशहरूमा बेलायत र जर्मनीले ती औषधि कम्पनीहरूको एकाधिकार कटौती गरी खुला गर्ने विषयलाई रोक्न अडान लिए । त्यतिखेर नेपाल भारत जस्ता देशहरूमा थोरै संख्यामा खोप लगाइएको थियो । त्यतिखेर खोप बनाएर अर्बपति बनेकाहरूको कुल सम्पत्ति १९ अर्ब ३० करोड अमेरिकी डलर बराबर थियो । 

न्यून आय भएका देशहरूका सबै मानिसहरूलाई पूर्ण खोप लगाउन यो रकम १.३ गुना बढी थियो । तर त्यतिखेर यी देशहरूमा विश्वको कुल आपूर्तिको ०.२ प्रतिशत मात्र खोप प्राप्त भएको थियो।

त्यतिमात्रै होइन, सोही अवधिमा अर्बपतिको पुरानो सूचीका ८ जना अर्बपतिको आम्दानीमा अर्बांै अमेरिकी डलरको वृद्धि भयो । उनीहरूको सोही अवधिमा कुल सम्पत्तिमा भएको वृद्धि ३२ अर्ब २० करोड अमेरिकी डलर थियो । यो रकम भारतका सबैलाई पूरा खोप दिन पर्याप्त हुने रकम हो ।

द पिपुल्स भ्याक्सिन अलाइन्समा विश्वका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था छन् । तिनमा ग्लोबल जस्टिस नाउ, अक्सफाम र युएनएड्स सहभागी छन् । यो अलाइन्सले फोब्र्स रिच लिस्टको डेटा विश्लेषण गरेको छ । सार्वजनिक कोषको ठूलो हिस्साबाट बनेको खोपले केही मुट्ठीभर मानिसलाई सम्पत्ति कमाउने अवसर दियो ।

अक्सफामको स्वास्थ्य नीति प्रबन्धक अन्ना मोरिओटले भनिन्, “हामीले यो क्रुर रोगलाई नियन्त्रण गर्न सफल भयौं । हामीले नयाँ खोपबाट नयाँ अर्बपति जन्मायौं तर सुरक्षित हुने चाहना बोकेका अर्बांै मानिसले खोप दिन समग्ररूपमा फेल भयौं । यी अर्बपतिहरू खोप बनाउने एकाधिकार पाएका कम्पनीहरूले बनाएको खोपको बिक्री वितरणबाट अर्बपति बनेका हुन् । 

यी खोपहरूको निर्माण सरकारी धनबाट बनेको थियो । ती खोपहरू पहिले विश्वभरका सार्वजनिक मानिसलाई दिइनुपर्ने थियो न कि निजी मुनाफा पाउने असवर दिनका लागि थियो । हामीले तत्काल यो एकाधिकार खतम हुुनुपर्ने र यसले खोपको ठूलो परिमाणमा उत्पादन गरी मूल्यमा कमी ल्याइ विश्वभरका मानिसलाई खोप दिनुपर्ने आवश्यकता छ ।” 

यो एकाधिकार तोड्नुपर्ने प्रस्ताव दक्षिण अफ्रिको समर्थनमा भारतले विश्व व्यापार संगठनमा लगेको थियो । अस्थायी रूपमा खोप बनाउन पाउने बौद्धिक सम्पत्ति अधिकारलाई हटाउने गरी सो प्रस्ताव गरिएको थियो । यो पहलले विश्वका १०० बढी विकासशील देशहरूलाई सहयोग पुग्ने थियो । 

यो प्रस्तावमा स्पेनजस्ता देशले समर्थन गरेका थिए । पोप र विश्वका सय जना नेता तथा बुद्धिजीवीहरूले समर्थन गरेका थिए । जी ट्वेन्टीमा बेलायत र जर्मनी लगायतका धनी देशहरूले यो प्रस्तावको विरोधमा उभिए । खोपको उत्पादन पर्याप्त नभएर भारत लगायतका देशमा हरेक दिन मानिसको मृत्यु भइरहेको थियो तर बेलायत, जर्मनी लगायतका देशहरूले ठूला औषधि कम्पनीका मालिकहरूलाई अर्बपति बनाउने स्वार्थको सम्बद्र्धन गरिरहेका थिए ।

नयाँ अर्बपतिको सूचीमा खोपबाट नगद जम्मा गरी अर्बपति बनेकाहरूको शीर्ष स्थानमा मोडर्ना र बायोएनटेकका प्रमुख कार्यकारीहरूको नाम छ । उनीहरूले ४ अर्ब अमेरिकी डलर वा सोभन्दा बढी सम्पत्ति जोडेर उक्लिए ।

खोप उत्पादन गर्न चाहिने रकमको ठूलो हिस्सा करदाताहरूको रकमबाट दिइयो र उनीहरू अर्बपति भए । अन्य तीन नयाँ खोप अर्बपति चिनियाँ खोप कम्पनी क्यानसाइनो बायोलोजिक्सका संस्थापक थिए । यसरी सार्वजनिक रकमबाट खोप बनाउन पाएका कम्पनीहरूले विज्ञान तथा प्रविधिको साझेदारी अन्यसँग गर्न इन्कार गरी विश्वव्यापी खोप आपूर्ति बढाउन बाधा हाले र भाइरसको म्युटेसन हुने जोखिम बढाएको युएनएड्सका कार्यकारी निर्देशकले त्यतिखेर व्यक्त गरेको आंशका अहिले ओमिक्रोनको खतराबाट पुष्टि हुन पुगेको छ ।

सन् २०२० को युएन पपुलेसन अनुसार न्यून आयको रूपमा व्याख्या गरिएका देशहरूको जनसंख्या अनुसार खोप दिनुपर्ने कुल जनसंख्या ७७ करो८ ६७ लाख १० हजार ६१२ रहेको थियो । औसत खोप लागत १९ अमेरिकी डलर थियो ।

न्यून आय भएका देशहरूमा खोपको आपूर्ति सहज भएको भए दक्षिण अफ्रिकामा कोभिडको म्युटेसन भइ ओमिक्रोनको खतरा हुन नसक्ने कथनलाई अस्वीकार गर्न सकिने अवस्था छैन । 

दक्षिण अफ्रिकाको समर्थनमा विश्व व्यापार संगठनमा भारतद्वारा अगुवाइ गरिएको खोप उत्पादन तथा वितरणमाथिको बौद्धिक सम्पत्ति अधिकारको बन्देजात्मक प्रावधान हटाइ उत्पादन सहज गर्नुपर्ने प्रस्तावको औचित्य पनि ओमिक्रोनको द्रुत गतिमा भएको म्युटेसनको प्रवृतिबाट पुष्टि हुन पुगेको हो ।

यो विश्वव्यापी महामारीको बेला मानिसहरूको ज्यानको तुलनामा कम्पनीहरूका लागि मुनाफा ठूलो भएको फेरि एक पटक देखियो ।

कोभिड सुरु भएयता खोपबाट नयाँ अर्बपति भएका र अन्य अर्बपतिले कमाएको रकमसहितको सूची ६ अप्रिल २०२१ मा फोब्र्सको रिच लिस्टमा सार्वजनिक गरियो । 

सन् २०२० को युएन पुपुलेसन अनुसार न्यून आयको रूपमा व्याख्या गरिएका देशहरूको जनसंख्या अनुसार खोप दिनुपर्ने कुल जनसंख्या ७७ करोड ५७ लाख १० हजार ६१२ रहेको थियो । औसत खोप लागत १९ अमेरिकी डलर थियो । यो औसत ५ अगुवा खोप उत्पादक देशहरूका खोप प्रतिव्यक्ति औसत मध्य तहको लागतको आधारमा तय गरिएको थियो ।

त्यस आधारमा न्यून आय भएका देशहरूमा खोप दिने समूहका सबैलाई खोप दिन लागत खर्च नौ जना नयाँ अर्बपतिको कुल सम्पत्तिलाई भाग गर्दा १.३ गुणा ठूलो देखिन्छ । 

युएन पपुलेसन २०२० अनुसार भारतको जनसंख्या १.३८ अर्ब छ भने ८ जना विद्यमान अर्बपतिले प्राप्त गरेको आम्दानीको कुल योग भारतमा खोप दिइने जनसंख्यालाई खोप दिन लाग्ने लागत भन्दा १.२ गुणा ठूलो रहेको देखियो । यो लागत दुई मात्रा खोपको लागत मूल्य हो ।

कोभिडको खोपबाट अर्बपति हुनेहरू 

पहिलो व्यक्ति मोडर्नाका सीईओ स्टिफन ब्यान्सेल हुन् । उनको सम्पत्ति ४.३ अर्ब अमेरिकी डलर बराबर पुग्यो।

दोस्रो व्यक्ति बायोएनटेकका सीईओ तथा संस्थापक उगुर सहिनको सम्पत्ति ४ अर्ब अमेरिकी डलर पुग्यो । तेस्रो मोडर्नाका संस्थापक लगानीकर्ता तथा प्रतिरोध क्षमता विज्ञ टिमोठी स्प्रिङ्गरको सम्पत्ति २अर्ब २० करोड अमेरिकी डलर पुग्यो ।

चौथो मोडर्नाका अध्यक्ष नोउबार अफेयानको सम्पत्ति १ अर्ब ९० करोड अमेरिकी डलर बराबर पुग्यो । पाँचौंमा मोडर्ना खोपको उत्पादन तथा प्याकेज गर्ने सम्झौता गर्ने कम्पनी आरओभीआइका अधयक्ष जुआन लोपेज बेलमोन्टेको सम्पति १ अर्ब ८० करोड अमेरिकी डलर पुग्यो ।

छैटौं मोडर्नाका संस्थापक वैज्ञानिक रोबर्ट ल्याङ्गरको सम्पत्ति १ अर्ब ६०करोड अमेरिकी डलर बराबरको सम्पत्ति पुग्यो ।

यसैगरी सातौं आठौं र नवौं नयाँ अर्बपति चिनियाँ कम्पनी क्यानसाइनो बायोलोजिक्सका संस्थापक वैज्ञानिक झू ताओको सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर, संस्थापक तथा बरिष्ठ उपाध्यक्ष किउ दोङ्सुको सम्पत्ति १ अर्ब २० करोड अमेरिकी डलर र संस्थापक उपाध्यक्ष माओ हुइहुआको सम्पत्ति १ अर्ब पुगेको छ ।

पहिलेदेखि फोब्र्स अर्बपतिको सूचीमा रहेका अर्बपतिले कोभिडको अवधिमा जोडेको सम्पत्तिका आधारमा सबै भन्दा बढी सम्पत्ति जोड्ने अर्बपति हुन जियाङ रेनसेङ परिवार हो । यो परिवार झेफेइ बायोलोजिकल प्रोडक्ट्सका अध्यक्षको परिवार हो । यो परिवारको सम्पति १७ अर्ब बराबरको वृद्धि भएको छ । सन् २०२० मा यो परिवारको सम्पत्ति ७ अर्ब ६० करोड अमेरिकी डलर बराबरको थियो । सन् २०२१ मा २४ अर्ब ४० करोड अमेरिकी डलर बराबर पुग्यो ।

भारतको सेरम इन्स्टिच्युटका संस्थापक साइरस पुनावालाको सम्पत्तिमा ८ अर्ब अमेरिकी डलर बढीको वृद्धि भएको हो । सन् २०२०मा पुनावालाको सम्पति ८ अर्ब २० करोड अमेरिकी डलर थियो भने सन् २०२१मा बढेर १२ अर्ब ७० करोड अमेरिकी डलर बराबर पुग्यो ।

साइनोफार्मका से पिङको सम्पत्ति ७ अर्ब ३० करोडबाट बढेर ८ अर्ब ९० करोड अमेरिकी डलर पुग्यो । यसैगरी, जेफेइ बायोलोजिकल प्रोडक्ट कम्पनीका उ गिआनजियाङको सम्पत्ति १ अर्ब ८० करोड अमेरिकी डलरबाट बढेर ५ अर्ब १० करोड अमेरिकी डलर पुग्यो ।

जर्मनीको बायोएनटेक रउरगुयाको मेगा फर्माका लगानीकर्ता थमस ट्रम्यान एन्ड फ्यामिलीको सम्पत्ति ९अर्ब ६० करोड अमेरिकी डलरबाट बढेर ११ अर्ब पुगेको छ । यसैगरी एन्ड्रेस स्ट्रगम्यान एन्ड फ्यामिलीको सम्पत्ति ९ अर्ब ६० करोड अमेरिकी डलरबाट बढेर ११ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । 

ज्याकोभ डीका पंकज पटेलको सम्पत्ति २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको सम्पत्ति बढेर ५ अर्ब पुग्यो । इम्युनिटी बायो कम्पनीका प्याट्रिक सून शिओङको सम्पत्ति ६ अर्ब ४० करोडबाट बढेर ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सम्पत्ति बढेर गएको अक्सफामले जनाएको छ ।

(टक्सार म्यागजिन, पुस २०७८ मा प्रकाशित)