श्रीलङ्काको कृषि अनुभव र नेपालले सिक्नु पर्ने पाठ


—–प्रह्लाद दाहाल——

श्रीलङ्काले बेहोरेको आर्थिक मन्दीको विश्वव्यापी चर्चाको विषय रह्यो । ‘श्रीलङ्का जस्तो बन्न सक्छ’ भन्दै तुलना गरेर नेपालमा बहस पनि भए । यो चर्चा विस्तारै कम हुँदै गएको छ । सन् २०२२ मा चरम उत्कर्षमा पुगेको आर्थिक मन्दीलाई श्रीलङ्काले विस्तारै कम गर्दै गइरहेको पनि छ । नेपाल ‘कृषि प्रधान’ देश । नेपाली ग्रामीण अर्थतन्त्रको मेरुदण्ड कृषि हो ।

कृषि क्षेत्रको पनि महत्वपूर्ण हिस्सा ओगटेको नेपालको दुग्ध क्षेत्रको एक हिस्सेदारको हैसियतमा मात्र हैन, एक नेपालीको नाताले पनि श्रीलङ्काको अर्थतन्त्रप्रति चासो हुनु स्वभाविक हुने नै भयो । हालै मात्र श्रीलङ्काको भ्रमण गर्ने अवसर मिल्यो । खासगरी श्रीलङ्काको कृषि क्षेत्रको विकास र यसमा पनि डेरी क्षेत्रको मुख्य चासोको विषय थियो ।

एसिया प्यासिफिक ट्रेड एग्रिमेन्ट (आप्टा) र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको सदस्य रहेको श्रीलङ्का १६ औँ शताब्दीपछि पोर्चुगिज र डचको प्रभावमा परेको थियो । लगभग १५० वर्ष ब्रिटिस शासन चल्यो । श्रीलङ्काले १९४८ मा स्वतन्त्रता प्राप्त गर्‍यो । लामो गृहयुद्धपछि अर्थतन्त्र उतावचढावबिच पनि राम्रो प्रगति गरिरहेको यो मुलुकले सन् २०२२ मा आर्थिक सङ्कटको ठुलो बज्रपात भोगेको छ ।

श्रीलङ्काको मुद्राको पतन र बढ्दो मुद्रास्फीतिका कारण निकै जटिल बनेको थियो । जनता आक्रोशित भएर सडकमा उत्रिए । अहिले पढेलेखेका र जान्नेबुझ्ने मानिस देश छोड्ने लाइनमा देखिए । राजनीतिप्रति तीव्र असन्तुष्टि देखियो । देशमा काम गर्ने जनशक्तिको अभावका कारण उत्पादन कम हुँदै गएको छ भने आयातमा निर्भर देखिन्छ । तीन तहको सरकार र ९ प्रदेश रहेको श्रीलङ्कामा मन्दी लागेपछि चुनाव हुन सकेको छैन । प्रदेश र स्थानीय तहमा कम खर्च गर्ने भन्दै कर्मचारीले चलाएका छन्। श्रीलङ्का अहिले बजारउन्मुख अर्थतन्त्रमा परिणत भएको छ ।

दुध तथा दुग्ध पदार्थको अध्ययनका क्रममा कृषि, पशुपन्छी तथा वन मन्त्रालय कोलम्बोमा डा. सन्जीका फरेरा र डाइरेक्टर डा. चमरीसँग नेपाल र श्रीलंकाको डेरी क्षेत्रबारे छलफल गरिएको थियो । छलफलका क्रममा दिइएको जानकारीअनुसार श्रीलङ्का दुधमा ४० प्रतिशत मात्रै आत्मनिर्भर रहेको देखियो, अर्थात् ६० प्रतिशत आयात देखिन्छ । प्राय धुलो दुध र दुग्ध पदार्थ न्युजिल्याण्ड र अस्ट्रेलियाबाट आउने गरेको छ ।

श्रीलङ्का पशुपालनको लागि अत्यन्तै सम्भावना भएको देशका रूपमा रहेको छ । जताततै घाँस र हरियाली छ । पशुपालनको लागि सुहाउने वातावरण, हावापानी, जमिन छ । विशेष गरी धान उत्पादन हुने भएकाले पराल प्रशस्त छ । देशमा आर्थिक मन्दी र बेरोजगारी बढेका कारण अधिकांश युवा विदेशिएका छन् । कामदारको अभावले उत्पादन कम हुन थालेको छ । पहिले धानमा सिंचाई गर्न ठाउँ ठाउँमा ठुला ठुला ताल र नहर बनाइराखेको देखियो तर आजकल प्रयोग नहुँदा विस्तारै पुरिँदै गई घाँसले ढाकेको छ ।

रेलको सुविधा, देशको हरेक स्थानमा बाटोघाटो पुगेको, घरहरू आकर्षक डिजाइन निकालेर बनाइएको, अग्ला घर नभएको, बस्ती व्यवस्थित रहेको, प्रायः सबैले गाडी चढ्ने, व्यवसाय व्यवस्थित रहेको, उत्पादनको हिसावले नेपालमा पाइने सबै प्रकारका फलफूल, तरकारी, अन्नपात पर्याप्त देखिन्छ ।

श्रीलङ्कामा धेरैजसो परम्परागत ढङ्गको पशुपालन नै नियमित छ । केही स्थानमा भने अत्याधुनिक रूपले पशुपालन फर्म गरेको पनि देखियो । ठुला र व्यवस्थित फार्ममध्ये न्युजिल्याण्ड फर्म नमुना हो । ५ हजार गाई पालिएको यो फर्म व्यवस्थित छ । फर्मभित्रै ठाउँ ठाउँमा डेरीका बिक्री कक्ष राखी उपभोक्तालाई आकर्षित गरिन्छ ।

डेरी क्षेत्रको विकास हे‍र्‍यो भने निजी र सरकारी दुवै किसिमका डेरी रहेछन् । सरकारी डेरीमा पाउडर दुध उद्योग र अन्य दुग्ध पदार्थ उत्पादन गरेको देखियो । निजी डेरीमा दुध र अन्य दुग्ध पदार्थ उत्पादन हुन्छ । सहकारी भने राम्रोसँग फष्टाउन सकेको देखिएन । दुध सङ्लन व्यवस्थित भएको देखिएन । व्यावसायिक हिसाबले पालिका फर्म भने अत्याधुनिक देखियो । ४० प्रतिशत मात्र बजार स्वदेशी उत्पादनले धानेकाले पनि यदि राम्रोसँग व्यवसायिक रूपमा डेरी उद्योग र पशुपालन गर्ने हो भने श्रीलङ्का बजारका लागि अत्याधिक सम्भावना देखिन्छ ।

अहिले भइरहेको उत्पादन त्यति व्यवस्थित नभएकोले लागत अत्याधिक बढीे छ । विकसित तेस्रो देशबाट आयात गरिने गरिएकाले पनि त्यहाँ उत्पादनभन्दा आयात गर्दा सस्तो रहेको देखिन्छ । त्यसकारण हाम्रो देशले निर्यात गर्न सक्दा पनि मूल्यका कारण बजारमा प्रतिस्पर्धा गर्न भने कठिन रहेको देखिन्छ तर त्यसका लागि हामीले उनीहरूलाई आवश्यक मात्रामा गुणस्तर कायम गरी उनीहरूको मागअनुसार सरकारको अनुदानमा सामान उपलब्ध गराउन सक्यौँ भने बजार लिन सकिन्छ ।

हामी नेपालीले श्रीलङ्काबाट सिक्न सकिने धेरै कुरा छन् । यसलाई हामीले सरकारी तवरबाट र निजीतर्फबाट जहाँ जसरी सम्भावना हुन्छ त्यसरी नै अगाडि बढाउँदै लैजानु पर्छ । यस्ता कुरामा हामीले सरकारलाई सुझाव दिँदै जानुपर्छ । विशेष गरी हाम्रोमा उत्पादन हुने र श्रीलङ्कामा उत्पादन कम हुने र मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने वस्तुमा निर्यात गर्न सकिन्छ ।

हामीले बुझ्दा दुग्ध पदार्थमा धुलो दुध नेपालबाट श्रीलङ्का निर्यात गर्न सक्ने सम्भावना देखिन्छ । त्यहाँको आवश्यकता र हाम्रोमा सधैँ उपलब्ध गराउन सक्ने क्षमता हुन आवश्यक छ तर त्यो भने हामी अहिले सक्ने अवस्थामा देखिँदैनौँ । जबसम्म १२ महिना बराबर उत्पादन हुन सक्दैन र निर्यातका लागि पुग्ने परिणाम पुग्दैन तबसम्म हामी निर्यात गर्न सक्दैनौँ । अब हामीले अहिले नेपालमा रहेको स्टक सामान कटाउने एउटा तत्कालीन समस्या भए पनि दीर्घकालीन रूपले भने अलि गहन ढङ्गले नै सोच्नुपर्ने हुन्छ । 

 (टक्सार फागुन २०८० बाट)