अटो क्षेत्र धराशायी बन्दा व्यवसायी पलायन हुने अवस्था आयाे: अध्यक्ष चाैधरी


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्र धराशायी बन्दा व्यवसायी यस पेशाबाट पलायन हुने अवस्था आएको बताएका छन् ।

बिहीवार काठमाडौँमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै उनले अटो क्षेत्र धराशायी बन्दै जाँदा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका हुन् । अध्यक्ष चौधरीले अटो व्यवसायमा सुधार आउनु पर्नेमा राज्यले वेवास्था गर्दा थप समस्या सिर्जना भइरहेको बताए ।

अटोमोबाइल क्षेत्रले मात्र ९० अर्ब रुपैयाँ बराबरको राजस्वको योगदान दिने गरेकोमा पछिल्लो वर्ष ३० अर्बमा झरेको बताउँदै अध्यक्ष चौधरीले यसले राज्यलाई नै घाटा पुगेको बताए ।

उनले समग्र अटो व्यापार खस्किँदा व्यवसायीलाई मात्र नभई सरकारलाई समेत घाटा भएको बताए । उनले सवारीसाधन बिक्री ईभीको मात्रै भएको भन्दै अन्य सवारी बिक्री हुन छोडिसकेको दाबी गरे ।

उनले अटो व्यवसायी भेन्टिलेटरमा पुगिसकेको भन्दै बजेटमार्फत सरकाले बाहिर ल्याउन जरुरी रहेको बताएका छन् । उनले सवारी पार्टपूर्जाको अवैध चोरी पैठारी रोक्न सरकारले कडाइका साथ काम गर्नुपर्नेमा जोड दिए ।