तल्लो–मध्यम वर्गको वित्तीय कारोबार सहकारीमै


काठमाडौं । ताप्लेजुङकी निलु खनालले जडिबुटीको तरकारी बजारमा विगत एक वर्षदेखि तरकारी बेचिरहेकी छिन् । सहकारीबाट ५ लाख रुपैयाँ ऋण लिएर उनले व्यवसाय सुरु गरेकी हुन् । उनले ३ ओटा सहकारीमा दैनिक ३ हजार रुपैयाँ बचत गर्दै आइरहेकी छिन् ।

जडिबुटी तरकारी बजार समितिले नै खोलेको सहकारी सहित थप अरु दुई सहकारीमा बचत गर्दै आएकी उनले सहकारीबाट बिना धितो ऋण लिएर आफ्नो व्यवसाय सुरु गरेको बताउँछिन् । उनले सहकारीमा दैनिक थोरै थोरै बचत गरेर धेरै भएको र आफूलाई चाहिँदा अहिले ऋण लिननपर्ने अवस्था रहेको उनले सुनाइन् । सहकारीले ऋण दिएर व्यवसाय गर्ने आँट आएर व्यवसाय गर्न सम्भव भएको उनी सुनाउँछिन् ।

सिन्धुलीका सरोज दाहालले गौशलामा दूध डेरी सञ्चालन गर्दै आइरहेका छन् । दुई वर्षदेखि डेरी सञ्चालन गर्दै आएका दाहालले ४ ओटा सहकारीमा दैनिक ३ हजार रुपैयाँ बचत गर्दै आइरहेका छन् । उनले सहकारीबाट ऋण नलिए पनि दैनिक थोरै थोरै रकम बचत गर्दै र परेको समयमा त्यही बचतबाट निकालेर आफ्नो समस्या टार्दै आइरहेका छन् ।

आफूलाई पैसा चाहिएको समयमा अरु व्यक्तिसँग हात फैलाउनु पर्ने अवस्था नरहेको उनी सुनाउँछन् । सहकारीबाट ऋण लिनुमात्र नभइ बचत गरेर पनि त्यसबाट आफूलाई चाहिएको समय रकम निकाल्न सहज भएको उनले बताए ।

काठमाडौंको रानीवनमा फलफुल व्यवासाय गर्दै आइरहेका अक्कल बहादुर खत्रीले व्यवसाय सुरु गर्नुभन्दा अगाडिदेखि नै सहकारीमा बचत गर्दै आएका थिए । उनले सहकारीमा विश्वास भएका कारण ९ ओटा सहकारीमा व्यापार अनुसार दैनिक बचत गर्दै आएका छन् । उनले सहकारीबाट बिना धितो ३ लाख रुपैयाँ ऋण लिएर आफ्नो व्यवसाय सुरु गरेका हुन् ।

सहकारीबाट कारोबार गर्दा फाइदा भइरहेको उनको भनाइ छ । बैंकबाट भन्दा सहकारीबाट कर्जा लिनको लागि सहज भएका कारण सहकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेको उनी बताउँछन् । उनले दैनिक व्यापारबाट साँवा ब्याज भुक्तानी गर्दै आइरहेको र बचत पनि व्यापार अनुसार गर्दै आएको उनी बताउँछन् ।

जडिबुटी तरकारी बजारमा नै व्यवसाय गर्दै आइरहेकी कमला सापकोटाले पनि सहकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । तरकारी बजारमा ६ वर्षदेखि व्यवसाय गर्दै आइरहेकी सापकोटाले ३ ओटा सहकारीमा दैनिक बचत गर्दैै आइरहेकी छिन् । पहिला धेरै ओटा सहकारीमा बचत गर्ने गरे पनि अहिले भने ३ ओटामा गर्दैं आएको उनी बताउँछिन् ।

उनले सहकारीबाट नै ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । व्यापार अनुसार दैनिक बचत गर्दै आइरहेकी सापकोटाले ५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । आफुलाई चाहिँदा कसैले पनि सहयोग नगरेको तर सहकारीले बिना धितो ऋण दिएका कारण व्यवसाय गर्न सफल भएको उनी सुनाउँछिन् । उनले बिना धितो सहकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् ।

साना व्यवसायीहरुलाई कर्जा प्रवाह सहकारीहरुले सहयोग गरेर व्यवसाय गरेर स्वरोजगार भएका यी प्रतिनिधि पात्र मात्र हुन् । यी बाहेक पनि धेरै साना व्यवासायहरुलाई सहकारी संस्थाहरुले सहयोग गर्दै आइरहेको छ । जसमा बिना धितो कर्जा लिनको लागि सहयोग गर्दै आइरहेको यसका धेरै उदाहरण छन् ।

सहकारीहरूले बेरोजगार तथा साना किसान, श्रमिक, कालिगड, न्यून आय भएका समूह एवं सीमान्तकृत समुदायलाई जोडेर व्यवसाय गर्नको लागि सहयोग गर्दै आइरहेका छन् । सहकारी संस्थाले कुल ऋणको ५१ प्रतिशत ऋण उत्पादन तथा आयमूलक व्यवसायमा केन्द्रित गर्नुपर्ने हुन्छ । जस अनुसार सहकारीहरुले सहयोग गर्दै आएका हुन् ।

समुदायमा भएको स्रोत साधानको सिपको प्रयोग गरेर सहकारी सञ्चालन हुने गरेको छ । सहकारी भनेको समुदायमा आधरित रहेर सञ्चालन हुने गर्दछ । सहकारीबाट बिना धितो ऋण लिएर सुरु गरेको व्यवसायबाट सहकारीको ऋण तिर्न र पारिवार पाल्न सहज भइरहेको उनीहरुले बताउने गरेका छन् ।

संस्थागत, सदस्यहरूको संख्या र कारोबारका आधारमा सहकारी क्षेत्र विस्तार हुँदै गएको हो । सहकारी विस्तार भएसँगै सहकारीबाट कर्जा लिएर उद्यम व्यवसाय गनेहरुको संख्या पनि बढ्दै गइरहेको छ । आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म नेपालमा सहकारी संस्थाको संख्या ३१ हजार ३७३ रहेको छ भने सेयर सदस्य ७३ लाख ८१ हजार २१८ छन् ।

सहकारीको लामो इतिहास जोडिए पनि २०४६ सालको आन्दोलनभन्दा अगाडि लगभग एक हजार मात्रै सहकारी थिए । बहुदलीय व्यवस्थाको आगमनपछि सहकारी जुन संख्यात्मक रूपमा बढे, त्यसको पाँच गुणा विकृति सहकारी क्षेत्रमा पस्यो । तर यसो भन्दैमा देशभर सञ्चालनमा रहेका सहकारीमा भने समस्या आएका छैन ।

नेपालको अर्थतन्त्रमा सहकारीको भुमिका महत्वपूर्ण मानिएको छ । उद्यम व्यवसाय गर्नको लागि सहज ऋण पाइने भएकोले पनि यसलाई महत्वपूर्ण मानिएको हो । नेपालको संविधानको धारा ५१ (घ १) मा राज्यको अर्थनीति सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने भन्ने उल्लेख गरिएपछि नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका महत्वपूर्ण मानिएको हो ।

सहकारीमा आबद्ध भएकाहरुले बिना धितो साना रकमका कर्जा लिएर आफ्नो व्यवसाय गर्दै नेपालमा नै स्वरोजगार भएका छन् । जसले नेपालमा बसेर केही गर्नको लागि र धितो नभएकाहरुको लागि सहयोग गर्दै आइरहेको छ ।

साना व्यवसायीहरुलाई सहकारीबाट फाइदा पुग्नुको कारण बिना धितो साना कर्जा पाउनु पनि हो । केहि उद्यम व्यवसाय गर्ने सोच भएको तर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन धितो नभएका, कागजपत्र पुर्याउन नसक्नेहरुको लागि सहकारीले सहज बनाउँदै आएको छ । दैनिक साँवा–ब्याज भुक्तानी गर्न पनि सहज हुने भएका कारण पनि सहकारीमा साना व्यवसाय गर्नेहरु आकर्षित भएका छन् ।

आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म सहकारीहरुले ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ बचत परिचालन गरेका छन् भने ४ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

साना कर्जा बिना धितो दिँदै आएपनि ठुला कर्जा बिना धितो दिँदा आफ्नै संस्थामा समस्यामा पर्ने भएकोले ठुला कर्जा भने बिना धितो दिन नहुने सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले बताउँछन् ।

उनले भने, “ठूलो रकमको कर्जा प्रवाह गर्दा धितो राखेर मात्र कर्जा प्रवाह गर्न हामीले निर्देशन दिने क्रममा भनेका छौं । सदस्यको उन्नयन र सदस्यको जीवनस्तर उकास्ने गरी संस्थाले काम गर्ने भनेर हामीले भनेको छौं । सहकारीको हाम्रो सन्दर्भमा हाम्रो उद्देश्य पनि त्यहि नै हो ।”

अहिलेको अवस्थामा बैंकको कागज पत्र पुर्याउन नसक्ने धितो चाहिने अवस्थामा सहकारी भगवान भएको फलफूल व्यवसायी खत्री बताउँछन् ।

अहिले बैंकबाट कर्जा लिएपनि धितो राखेर कर्जा लिए पनि धेरै ब्याज भएको अवस्थामा सहकारीबाट बिनो धितो ब्याज लिएको उनले सुनाए । साँवा ब्याज पनि दैनिक तिर्ने र दैनिक बचत उठाउन आउने भएका कारण पनि सहज हुने गरेको उनको भनाइ छ ।

सहकारी विभागले पनि सहकारीहरुलाई नीतिगतरुपमा सहजीकरण गर्ने गरेको छ । सहकारी विभागले नीति नियम बनाएर उत्पादन मुलक क्षेत्र, साना उद्योगी व्यवसायीहरुलाई कर्जा दिनको लागि सहजीकरण गर्ने गरेको छ ।

सहकारी विभागका उपरजिष्ट्रार उपाध्यायले विभागले सहकारीहरुलाई नीतिगतरुपमा सहजीकरण गर्ने, राम्रो काम गरिहेका संस्था गुडविल भएका संस्था र उत्पादनसँग जोडिएका संस्थाहरुलाई अनुदान दिएर सहयोग गर्ने बताउँछन् । उनले भने, “सहकारी विभागले नीतिगत र अनुदान दिएर सहयोग गर्ने गर्छ ।”

आफ्नो उद्देश्यमा रहेर काम गरिररहेका सहकारी संस्थाहरुलाई विभागले सहयोग गर्ने गरेको हो । उत्पादनसँग जोडिएका सहकारीहरुलाई सहकारी विभागले मात्र नभइ प्रदेश, स्थानीय तहहरुले विभिन्न श्रेणीहरु छुट्याएर, मूल्यांकन गरेर मापदण्ड बनाएर अनुदान दिने गरेका छन् । सहकारी विभागले गत वर्ष त्यो भन्दा अघिल्लो अघिल्लो साल केहि संस्थाहरुलाई अनुदान दिएको उपरजिष्ट्रार उपाध्याय बताउँछन् ।

पछिल्लो समय सहकारीको मर्म र सिद्धान्त अनुसार सञ्चालन भएका सहकारीहरुले जसरी अहिले साना किसानहरुको व्यवसायमा सहयोग गर्दै आएका छन् । त्यसलाई निरन्तर दिनुका साथै उनीहरुले अब आउने दिनमा आफ्नो कार्यक्षेत्रपनि बढाउनु पर्ने देखिन्छ ।

जस्तै उनीहरुले उत्पादनमा समेत ध्यान दिएर मल, बीऊ, औजार जस्ता वस्तुमा किसानलाई सहयोग गर्नुपर्छ भने उत्पादनको बजारीकरणमा समेत सहकारीले किसानका उत्पादनहरू किन्रे र बेच्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ । जसमा स्थानीय सरकारले सहकारीलाई आवश्यकताका आधारमा क्षमता अभिवृद्धि गर्नु र केही वर्ष लगातार अनुदान दिने हो भने पाँच वर्षभित्रमा सहकारी आफ्नो बलबुतोमा उभिन सक्ने देखिन्छ ।

दैनिक थाेरै बचत गर्दा पनि सहयोग

सहकारी कर्जा लिनको लागि मात्र नभइ थोरै थोरै बचत गरेर धेरै भएका उदाहरणहरु पनि रहेका छन् । सहकारीहरुले साना साना बचत गर्ने र केही गर्नको लागि बिना धितो आफ्नो व्यवसाय गर्नहरुको लागि बिना ऋण प्रदान गर्दै आइरहेको छ ।

सहकारीबाट ऋण मात्र नभइ थोरै थोरै बचत गरेर पनि भवितव्य परेको समयमा निकाल्नको लागि सहयोग पुग्ने गरेको दूध डेरी सञ्चालन गर्दै आएका सरोज दाहाल बताउँछन् । “सहकारीबाट ऋण नलिए पनि सहकारीमा दैनिक बचत गरेर आफुलाई चाहिँदा थोरै थोरै बचतले धेरै भएको र त्यसबाट सहयोग मिलेको छ,” उनले भने ।

अहिले थोरै बचत गर्ने र आफुलाई चाहिएको समयमा त्यहि बचत अथवा बिना धितो साना कर्जा लिएर आफ्नो काम पूरा गर्न सकिने भएका कारण अधिकांश साना उद्यमी व्यवसायी सहकारीमा आकर्षित भएको सहकारी सञ्चालक दृश्य बहुउद्देश्य सहकारीका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।

सहकारी संस्थाहरुले बजार प्रतिनिधि पठाएर दैनिक बचत संकलन गर्ने गरेका छन् । जसले गर्दा पनि साना व्यवसायीहरुलाई सहज हुने गरेको छ । बैंक तथा वित्तीय संस्थामा दैनिक बचत गर्न जान नसक्ने र त्यस अनुसार आम्दानी पनि नभएका साना व्यवासायहरु सहकारीमा नै बचत गर्न सहज मान्ने गरेका छन् ।

व्यवसायी निलु खनालले भनिन्, “सहकारीको मान्छे सँधै यहि पैसा उठाउन आउनुहुन्छ । यहिबाट लिएर जानुहुन्छ । हामी बचत गर्न जान पर्दैन । जति व्यापार गर्यो त्यति नै बचत गर्न मिल्छ । यति नै भन्ने हुँदैन । सजिलो भएको कारण सहकारीमा बचत गर्ने गरेको हो ।”

सहकारीमा साना व्यवसायीहरुको आकर्षण बढ्नुको अर्को कारण आफ्नो व्यापार अनुसार बचत गर्न पाउनु पनि हो । कुनै दिन धेरै व्यापार भएको अवस्था धेरै बचत गर्ने र थोरै व्यापार भएको अवस्था थोरै बचत गर्नु अर्को कारण हो । साना व्यवसायहरुले आफ्नो व्यवसाय अनुसार बचत गर्न सक्ने भएका कारण पनि आकर्षित भएका हुन् ।

राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष मिनराज कँडेलले सहकारी संस्थाहरुले साना उद्यम व्यवसाय गर्नेहरुको लागि सहयोग गर्दै आइरहेको बताउँछन् ।