थाई एयरवेजको सेवा नेपालमा पुनः शुरुवात


काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो ।

थाई एयरवेजको यात्रा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो । थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो ।

हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज थाई एयरवेजको लागि साझेदार बनेको छ । नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ ।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले वायुसेवा पुन सुचारुको वारेमा भने, “काठमाडौं र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो । यो सेवाले नेपाललाई थाइल्याण्ड लगाएत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ । हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ, र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौं ।”

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रवि चन्द्र सिंहले भने, “ काठमाडौं र बैंककलाई उडान मार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौं । सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको छ । हाम्रो सेवाहरूले नेपाल र थाइल्याण्ड बीच उडान गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्नेछ ।”

हाल थाई एयरवेजसँग कूल ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्ने जनाइएको छ ।