अब एआईबाट माटो परिक्षण, मोबाइलमा सम्पूर्ण नतिजा


काठमाडौं । किसानहरुलाई सहयोग पुर्याउनको लागि कृत्रिम बौद्धिकता आर्टीफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ‘साथि’ डिभाइस सार्वजनिक गरिएको छ । महिला विकास समाज (विमेन डेभेलप्मेण्ट सोसाइटी–वोडेस) अन्तर्गत सक्रिय महिला प्राविधिज्ञहरूको समूह ’इम्प्याक्टर्स’ ले बनाएको डिभाइस र त्यसका लागि चाहिने एप सार्वजनिक गरेको हो ।

नेपालका किसानहरूले खेतीपाती गर्दा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई एआईको प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने नेपालकै पहिलो एआईमा आधारित डिभाइस भएको जनाइएको छ ।

किसानलाई खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा पाउन लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास लिएको इम्प्याक्टर्सकी संयोजक लचना हाडाले बताइन् ।

उनले भनिन्,“परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण दिन प्रतिदिन ओरालो लाग्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्नमा तथा सामान्य किसानलाई पनि सूचना प्रविधिको लाभ उपलब्ध गराउनमा एआईको यो प्रयोग उपयोगी हुने र त्यसको नतिजा स्थलगत रूपमै तत्कालै जानकारी पाउन सकिन्छ ।”

कुन बाली लगाउने, खेतको माटोको गुणस्तर, बालीनालीको रोगको उपचारका लागि पहल गर्न सजग गराउने जनाइएको छ । यो एप एण्ड्रोइडमा उपलब्ध रहेको र छिट्टै आईओएसमा पनि उपलब्ध गराइने हाडाले बताइन् । बिना इन्टरनेट प्रयोग गर्न सकिने भएकोले दुर्गम क्षेत्रका किसानले पनि यसलाई सजिलै प्रयोग गर्न सक्ने ’इम्प्याक्टर्स’ ले जनाएको छ ।

नेपालमा कृषि प्रयोगशाला सीमित सङ्ख्यामा मात्रसेवा पाउन कठिन हुने दुर्गम र टाढा भएको कारणले बेलैमा सेवा नपाउने झन्झन्ट यस डिभाइसको माध्यमबाट अन्त्य हुने विश्वास इम्प्याक्टर्सले लिएको छ ।

डिभाइसको व्यावसायिक उत्पादन गरेर नाफा कमाउने नभई कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग सम्बन्धी वैज्ञानिक अनुसन्धान कार्यलाई सघाउने उद्देश्य इम्प्याक्ट्रसले लिएको छ ।

कम खर्चमा जडान तथा प्रयोग गर्न सकिने ’साथी’ डिभाइस हार्डवेयर र सफ्टवेयर तयार गरिएको छ । हार्डवेयरको खर्च लाग्ने भएकाले केहि खर्च लाग्ने हाडाले बताइन् ।

साथी सफ्टवेयरले माटो तथा बालीनाली संम्बन्धी तथ्याङ्क संकलन गर्ने जनाइएको छ । तथ्यांङ्क विश्लेषण गरी माटोको लवणता, तापक्रम, आर्द्रता, नाइट्रोजन, फसफोरस, पोटासियम र अम्लताको अवस्थाबारे जानकारी प्रदान गर्ने हाडाले बताइन् ।
सफ्टवेयरले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान पनि गर्न सक्दछ ।

हाल यस डिभाइसले धान, गहुँ, केरा, गोलभेडा, आल जुट तथा कफिलगायत २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्ने जनाइएको छ ।

दश महिनाको अवधिमा तयार भएको एआईमा आधारित यस डिभाइसको परीक्षण काठमाडौंको सतुङ्गल र फपिङ्गमा गरिएको थियो । महिला विज्ञ मात्र संम्मिलत १६ जनाको टोलीले यो डिभाइस निर्माण गरेको हो ।