संघीय सरकार र काठमाडौँ महानगरपालिकाबिच समन्वय हुनुपर्नेमा कांग्रेसको जोड


काठमाडौँ । नेपाली कांग्रेसले संघीय सरकार र काठमाडौँ महानगरपालिकाबिच विवाद भइरहेको भन्दै समन्वय गर्न आग्रह गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच तत्काल समन्वय गर्न माग गरेका हुन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र सहअस्थित्वमा आधारित भएको स्मरण गराए ।

उनले भने,“संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्थित्वमा आधारित छ ।”

संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताए ।

उनले संविधानको अनुसूचि ५,६,७,८,९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको भन्दै संघीय सरकार र काठमाडौं महानगरपालिकाबिच सडक भत्काउने बनाउने गाईजात्रे पाराले सरकार माथि गम्भिर प्रश्न उठेको बताए ।

उनले भने,“हाल संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकार माथि गम्भिर प्रश्न उठेको छ । तत्काल समन्वय होस् । सरकारीरु पक्षले अहंकार,हुलउदत्त र झगडिया मानसिकता नबोकोस् ।”