युएसएआईडीको किसान २ परियोजना सम्पन्न, कृषि उत्पादन १३९ प्रतिशतले बढाएको दाबी


काठमाडौँ। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले ले लगानी गरेको किसान २ परियोजना सम्पन्न भएको छ ।

बिहीवार एक कार्यक्रमकाबिच परियोजना सम्पन्न प्रतिवेदन आदानप्रदान गरिएको छ । कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आयआर्जन वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको छ।

जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका गरी २ लाख ७० हजार ६०० भन्दा बढी किसानहरूलाई सहयोग जनाइएको छ ।

युएसएआईडी, नेपाल सरकार र निजी क्षेत्रबिचको साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरेको परियोनाको दाबी छ ।

किसान २ परियोजनाले १७७ फर्महरूसँग साझेदारी गरी लगभग ६०० कृषि सल्लाहकारहरूलाई किसानहरूलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्‍याउनुका साथै ३५ हजार भन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको छ ।

परियोजनाले उत्पादन १३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको जानकारी दिएको छ ।

जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यासहरू र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै युएसएआईडीले किसानहरूलाई जलवायु परिवर्तनका प्रभावहरूको राम्रोसँग सामना गर्नसक्ने गरी सशक्त बनाएको परियोजनाको भनाइ छ।

कार्यक्रममा बोल्दै अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले भने, “नेपाली किसानहरूलाई उनीहरूको आय वृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा उनीहरूको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्य सुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपालको कृषिको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा हामी गौरवान्वित छौँ ।”

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले भनिन्, “युएसएआईडीको किसान २ परियोजनाले राइस मिल मोडेल र मेज एग्रिगेसन मोडेल प्रस्तुत गरेको छ, जसले मिलवाला र सङ्कलकहरूलाई किसानलाई सहयोग गर्न र उचित मूल्यमा उत्पादन खरिद गर्न मद्दत गर्दछ ।”

राइस मिल मोडेलको सफलताका कारण यसलाई सरकारी निकायहरूले अपनाएको चर्चा गदैए उनले किसान २ ले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍याउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सहयोग पुर्‍याएको बताइन्। उनले दीर्घकालीन प्रयोगका लागि परियोजनाको संयन्त्रलाई संस्थागत गरिरहेको बताइन्।

किसान २ परियोजनाको समापन समारोहमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन ज्ञान सामग्री र प्रविधि हस्तान्तरण गरिएको थियो । यसले कृषिमा निजी क्षेत्रको भूमिका विस्तार गर्न, लगानी आकर्षित गर्न र नेपालमा कृषि उत्पादन तथा आर्थिक समृद्धि बढाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले ८ लाखभन्दा बढी नेपाली किसानहरूलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ।

कार्यक्रममा विभिन्न किसान र निजी क्षेत्रका निकायहरूको पनि सहभागिता रहेको थियो ।