सहकारीको यकिन तथ्यांक नहुँदा समस्या आयाे: मन्त्री अधिकारी


काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको सङ्ख्याबारे यकिन तथ्यांक नहुँदा समस्या आएकाे बताएका छन् । आजदेखि सुरू भएकाे प्रथम सहकारी रोजगार मेलाकाे उद्घाटन समाराेहमा बाेल्दै अधिकारीले राष्ट्रिय सहकारी महासंघले देशभर कति सहकारी समस्यामा छन् र कति सहज रूपमा सञ्चालन भएका छन् भन्ने खालकाे तथ्याङ्क नराख्दा समस्या बढ्दै गएकाे बताएका हुन् ।

“महासंघले कति सहकारी छन् भन्ने विषयमा तंथ्याक पनि निकाल्न पर्यो त्याे सरकारको मात्रा काम त होइन होला । सरकारसँग तंथ्याक छैन भनेर उफ्रिन हुदैँन । सरकारले यो बाहेक अन्य विभिन्न क्षेत्रमा काम गर्ने गर्छ तर हामी यसैको जिम्मा लिएर काम गरेका छौँ । तपाईँहरूले राम्रो तरिकाले काम गर्ने हाे भने यस क्षेत्रमा देखिएका समस्या घट्दै जान्छ ।”

उनले संविधानले नै सहकारीलाई अर्थतन्त्रको प्रमुख खम्बाको रूपमा राखेपनि मर्म र सिद्धान्त अनुरूप काम गर्न नसक्दा समस्याहरू बढ्दै गएकाे दाबी गरे । “सानाे देशमा सहकारीहरू धेरै भयो भनेर भन्ने गरिन्छ जुन यार्थथ पनि छ यो सानो मुलुकमा ३२ हजार सहकारी हुनु भनेको धेरै हो । जहाँबाट पनि स्विकृत हुने परिपाटीले गर्दा समस्या पनि आएको छ । यसलाई नियन्त्रण गर्नुपर्छ,” उनले भने ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले राेजगार मेलाले सहकारी क्षेत्रले राज्यकाे अर्थतन्त्रमा ठूलाे याेगदान दिएकाे दाबी गरिन् । उनले देशका विभिन्न सहकारीले कृषि, स्वास्थ्य,देखि आवास निर्माणका कार्यमा नागरिकलाइ सहयाेग गरेकाे बताइन् ।

ललितपुरस्थित पुल्चोकमा आजदेखि सुरू भएकाे मेला असार ९ गते सम्म चल्ने छ । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुती, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुने महासंघले जनाएकाे छ । मेलाको अन्तिम दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालबाट मेलाको समापन हुनेछ ।

मेलाको सह-आयोजकका रूपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेका छन् ।

मेला आयोजनाका लागि वैदेशिक रोजगार बोर्ड, बागमती प्रदेश वचत तथा ऋण सहकारी संघ, नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापा, साहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपाने झापा, मेची बहुउदेश्यीय सहकारी संस्था लिमिटेड दमक झापा र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सहयोग गरेका छन् ।

मेलामा निस्शुल्क प्रवेश गर्न सकिने छ । विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारले मेलाको अवलोकन गर्ने अनुमान महासंघको छ ।