कफी विकास बोर्डको कार्यकारी निर्देशकका लागि ७ जनाको आवेदन


काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकका लागि ७ जनाले आवेदन दिएका छन्। आज (सोमबार) बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिमा ७ जनाले आवेदन दिएका हुन् ।

कार्यकारी निर्देशकका लागि पेस गरेका आवेदकहरूको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ ।

जसमा काठमाडौँ महानगरपालिका वडा नम्बर १४ का गौरव लुइँटेलले पहिलो नम्बरमा आवेदन दिएका हुन् । दोस्रोमा काठमाडौँ महानगरपालिका वडा नम्बर १० का नवराज सापकोटाले आवदेन दिएका थिए ।

त्यस्तै सुन्दर बजार वडा नम्बर २, परेवाडाँडा, लमजुङका फाइन्द्रराज पाण्डेले आवेदन दिएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२, दाङका मनोज बस्नेतले आवेदन दिएका थिए ।

यस्तै चन्द्रागिरि नगरपालिका वढा नम्बर ३, थानकोटका राजेन्द्र श्रेष्ठले आवेदन दिएका थिए । सिरान्चोक गाउँपालिका वडा नम्बर ३ गोरखाका रामचन्द्र ढकालले आवेदन दिएका थिए भने सातौँ नम्बरमा भूमिकास्थान नगरपालिका वडा नम्बर ९ अर्घाखाँचीका डा. विष्णु प्रसाद भट्टराईले आवदेन दिएकाे मन्त्रालयले जनाएकाे छ ।

भट्टराई निवर्तमान कार्यकारी निर्देशक हुन् । कार्यकालभर चिया तथा कफि क्षेत्रका सरोकारवालालाई ‘चिढाएर बसेका’ भट्टराईलाई यसअघिको कार्यकालमा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले स्पष्टिकरणसमेत सोधेकी थिइन्।

कार्यकाल सकिएपछि कर्मचारीले बिदाइ गर्न खोज्दै गर्दा ‘म पुनः आउने हो किन बिदाइ गर्नु’ भनेर जंगिदै निस्किएको बोर्डका प्रत्यक्षदर्शी एक कर्मचारीले सुनाए।

चार वर्षे कार्यकालमा मातहतका कर्मचारी र सरोकारवालाको कुरा नसुन्ने आरोप लागेका भट्टराईले प्रतिस्पर्धाका लागि आवेदन दिएको खबरले मात्र पनि बोर्डका कर्मचारीमा भय सिर्जना भएको ति कर्मचारीको भनाइ छ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर दोहोरिन कसरत गरेका भट्टराईको विरुद्ध चिया कफि क्षेत्रका संस्थाहरूले सामुहिक रूपमा विरोध पनि गरेका थिए।