काठमाडाैँ । नयाँ सरकार गठन प्रक्रिया भएसँगै नेप्से परिसूचक ५२.९७ अंकले बढेको छ ।पुष्पकमल दाहाल नेतृत्वको १८ महिने सरकार ढलेपछिको भएको शेयर कारोबारमा उत्साहजनक देखिएको छ ।
नयाँ अर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेल बन्ने खबरसँगै शेयर बजारमा हरियाली छाएको छ । आईतवार नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७.५९ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९.५९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ ।
आइतवार कारोबारमा आएका ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीवार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको थियो । अघिल्लो कारोबार भन्दा आइतवार कारोबारमा वृद्धि भएको छ ।
नेप्सेका उपसमूहकै शेयर बढेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा बढी ३.७४ प्रतिशत बढेको छ । त्यस्तै,जलविद्युत उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। विकास बैंक, वित्त, होटल, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आइतवार भएको कारोबारमा रिडी पावर र माण्डु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य करिव १० प्रतिशत बढेको छ भने अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता बलेफी हाइड्रोपावरको शेयरमूल्य भने ५।१२ प्रतिशत घटेको छ । आइतवारको कारोबारमा जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्