काठमाडाैँ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । सोमवार उपप्रधानसहित अर्थमन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलित रुपमा अगाडि बढाउने बताएका हुन् ।
उनले शेयर बजारलाई विगतमा जुवाघर लगायत अन्य टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलित रुपमा अगाडि बढाउने बताए । उनले अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरु रहेको भन्दै समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर समस्या समाधान गरिने उल्लेख गरे ।
अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रुपमा अघि बढ्ने उनले बताए । उनले सरकारको सोच र कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि कुनैपनि बजेट बाधक नबन्ने उल्लेख गरे।
बजेट कार्यान्वयनका शिलशिलामा केही समस्या महशुस भए सरकार संवैधानिक र कानूनी प्रवन्ध अनुसार अघि बढ्ने उनकाे भनाइ छ ।
उनले विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने विषयमा पहिलो निर्णय गरेका छन् । विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै पैसा कम भएकाले विकासमा बाधक बन्न नहुने उनले बताए।
उनले त्यसका लागि हुनसक्ने स्रोतको खोजी गरिने उल्लेख गरे । विकासका लागि आवश्यक स्रोतका विकल्पहरुको अध्ययन गरेर अघि बढ्ने उनकोे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्