सहकारी संस्थाहरूको नियमनमा कडाइ गर्न सरकारलाई विज्ञहरूको सुझाव


काठमाडाैँ । विज्ञहरूले सहकारी संस्थाहरूको नियमनमा कडाइ गर्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलवार सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल, पूर्वसचिव गोपिनाथ मैनाली लगायतका अधिकारीहरूले सो सुझाव दिएका हुन् ।

सहकारी संस्थामा नियमनको संकट देखिएको त्यसको वचत रकम समेत अपचलन हुने अवस्था आएको विज्ञहरूले बताएकाे विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा विज्ञहरूले व्यवस्थापक र सञ्चालक एउटै हुँदा पनि समस्याहरू देखिएको आाैंल्याएका थिए । “सहकारी स्थापनाको परिकल्पना, दर्ता, सेयर सदस्यहरुको छनौट, सदस्यहरुको संख्या, त्यसपछि संचालकको व्यवस्थापन, सञ्चालक र व्यवस्थापक एउटै हुने, एउटै व्यक्ति धेरै वटा सहकारीको सदस्य हुने जस्ता हिजाका अभ्यासले पनि यो समस्या रहेको हो भन्ने तथ्य पनि आएको छ,” उनले भने ।

विशेष समितिको बैठक साउन २ गते (भोलि) पनि बस्दैछ । विगतमा छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्ने कार्यसूचि रहेको पनि सभापति थापाले बताए ।