सरकारले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य लिनुपर्ने व्यवस्था हटाउनुपर्छ: सांसद पन्त


काठमाडाैँ । सत्तारुढ नेकपा एमालेमा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गरेका छन् ।

ज्येष्ठ नागरिकहरूले राष्ट्रिय परिचय पत्र लिनका लागि घण्टौ लाईन बस्नुपर्ने अवस्था देशभर भएकाले यस्तो व्यवस्था हटाउनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने उनकाे भनाइ थियो । आइतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पन्तले ज्येष्टठ नागरिकहरूलाई परेको मर्कालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, “यो राष्ट्रिय परिचय पत्र मेरो विचारमा ७० वर्ष भन्दा माथिलाई राष्ट्रिय परिचय पत्र लिइराख्नुपर्छ भनेर जोड दिइराख्नुपर्छ भन्ने लाग्दैन । त्यसैले जनतालाई परेको यो मर्कालाई सामान्य नठानौं । यसलाई गृह मन्त्रालयले तुरुन्त एउटा सर्कुलर पठाएर हटाउने काम गरोस् ।”

सांसद पन्तले मुलुकको राष्ट्रियताप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउने काममा पनि सबै राजनीतिक दलहरू एकतावद्ध भएर अघि बढनुपर्ने बताए ।