साशा इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त


काठमाडौँ । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखामा रहेको खानि खोलाको पानी प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको कम्पनीले जनाएको छ ।

धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।