काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन नेप्सेमा उछाल आयो । आइतबार प्रिओपन सेसनमै ३८ अंकले बढेको नेप्से परिसूचक नियमित कारोबार सुरु भएको १ मिनेट नपुग्दै ३.९९ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लाग्यो ।
पहिलो सर्किट लाग्नेबेला नेप्से परिसूचक १०२ अंकले बढेर २६७०.८२ अंकमा पुगेको थियो । पहिलो सर्किटमा २० मिनेट बन्द भएर खुलेको बजार पुनः १२५ अंकले बढेर २६९७.२१ अंकमा पुगेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेकमा बजार ४.८८ प्रतिशतले बढेको थियो ।
दोस्रो सर्किट ब्रेक खुलेपछि बजार विस्तारै घट्न थाल्यो । आज २७ सय अंक नाघेको नेप्से परिसूचक समाचार तयार पार्नेबेलासम्म खुम्चिदै २६२८ अंकमा झरेको छ । यतिबेला नेप्से परिसूचक ६०.७८ अंकले बढेको छ ।
आज लगानीकर्ताको आर्कषण भने बाणिज्य बैंकमा देखिएको छ । कारोबार सुरु भएदेखिनै बाणिज्य बैंकको सेयरमूल्य बढेको छ । अहिले नेप्सेमा ४ ओटा वाणिज्य बैंकको सेयरमुल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने ७ ओटा वाणिज्य बैंकको सेयरमूल्य ९ प्रतिशतले बढेको छ ।
२९४ कम्पनीको १ करोड ७९ लाख ९२ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८७ करोड ६५ लाख ५८५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्