कोदो: स्मार्ट अन्नको चम्कँदो भविष्य


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को बजेटले कृषिमा लगानी दशक घोषणादेखि कृषि क्षेत्र रुपान्तरणको लागि रैथाने बालीको उत्पादन तथा उपभोग प्रवर्धन गरिने उल्लेख छ । यस्ता रैथाने बालीको उत्पादन र उपभोगमा प्रवद्र्धधन गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रमले चर्चा पाउन थालेको केही वर्ष हुन थालेको छ ।

सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनामा कोदोजन्य जस्ता बालीले महत्व पाउँदा यस्ता उपजहरूको ब्राडिङ हुन थालेको छ । चालु आर्थिक वर्षको बजेट लागु भएसँगै कोदोलाई पहिलेका तुलनामा केही बढी महत्व दिइएको विज्ञहरूको भनाइ छ । तर त्यस्तो महत्व नेपालमा मात्र दिइएको होइन किनभने उक्त बालीबारे अहिले विश्वभरि नै चर्चा भइरहेको छ ।

त्यतिमात्र नभइ संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गरेको थियो जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा पनि यसले राम्रो प्रचार ग¥यो भने संसारको ध्यान कोदो बालीमा तान्न सफल भयो ।

राष्ट्र संघको अभियानसँगै अहिले कोदो उत्पादन हुने राष्ट्रहरूले विभिन्न कार्यक्रम तथा योजना बनाएर कोदोजन्य बालीबारे प्रचारप्रसार गरिरहेका छन् । नेपालमा पनि सरकारले कोदोजन्य बालीबारे जनचेतना जगाउने र प्रवर्धन गर्ने कार्य अभियानकै रूपमा चलाएर आएको छ ।

आर्थिक वर्ष २०७१\७२ मा २ लाख ६८ हजार ५०० क्षेत्रफलमा ३ लाख ८४ हजार ८८ सय मेट्रिकटन उत्पादन भएको कोदो आर्थिक वर्ष २०७७ \२०७८ मा २ लाख ६५ हजार ४०१ क्षेत्रफलमा ३ लाख २६ हजार ४४२ मेट्रिकटन मात्र रह्यो भने गत आर्थिक वर्ष २०८०\०८१ मा २ लाख ६० हजार क्षेत्रफलमा ३ लाख ११ हजार २२३ मेट्रिकटन उत्पादन भएको छ ।

नेपालमा पहिला उत्पादन वृद्धि हुनु र हालको समयमा उत्पादन घट्नुमा मुख्य कारण माटोमा रहेको अर्गानिक तत्वको भूमिका रहेको वरिष्ठ कृषि विज्ञ छवि पौडेलले बताए । “पहिला रासायनिक मल प्रयोग नगर्दा माटोमा अर्गानिक म्याटरहरू ३ प्रतिशत हुने गथ्र्यो । जसकारण उत्पादनमा वृद्धि हुन्थ्यो । तर हालसमयमा माटोमा अर्गानिक म्याटर १ प्रतिशत छ । जसक ाकारण उत्पादनमा भारी गिरावट आएको छ,” पौडेलले भने ।

नेपालमा कोदो मुख्यता ढिँडो, रोटीजस्ता खाद्य, पशु आहार र रक्सीमा प्रयोग हुने गरेको छ । कोदोको ढिँडो कडा परिश्रम गर्ने श्रमजीवीहरूको लागि परापूर्वकालदेखि उपयुक्त पौष्टिक आहारको रूपमा लिइँदै आइएको छ । नेपालका अधिकांश आदिवासी तथा जनजातिहरूमा चाडपर्व तथा पर्वमा कोदो रक्सी चढाउने तथा अतिथि सत्कारमा समेत प्रयोग गर्ने प्रचलन छ ।

कोदोको पौष्टिक महत्व बुझेर सहर बजारमा समेत कोदोको परिकार खाने प्रचलन बढे पनि उत्पादन भने घट्दो दरमा देखिन्छ । रैथाने बाली प्रवर्धन कार्यक्रम भनेर स्थानीय तहहरूमा सशक्त वित्तीय हस्तारण मार्फत सम्बन्धित तहहरू जहाँ कोदो उत्पादनहरू हुन्छ, त्यहाँ बजेट विनियोजन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरि केसीले बताए ।
विगतमा एकातिर कोदोको महत्व घट्दै जानु र रासायनिक मलले माटोको उर्वराशक्तिमा ह्रास आएका कारण उत्पादन घट्न थालेको यस क्षेत्रका किसानको गुनासो छ ।

स्याङ्जाको भीरकोट नगरपालिकाका किसान बलबहादुर थपाका अनुसार कोदोको उत्पादन पछिल्लो सयम घटेको र गाउँमा युवा जनशक्ति नहुँदा कोदो हुने बारी बाँझो हुँदै गएका छन् । उनले भने, “मेरो घरमा पाँच वर्ष अघि ८ मुरी कोदो उत्पादन हुन्थ्यो, अहिले त्यसको ओखति गर्ने पनि छैन ।” कोदो नेपालको चौथो मुख्य बाली हो भने पहाडी क्षेत्रको मकै पछिको दोस्रो मुख्य बाली हो । कोदो विषेशगरि पहाडी भागामा कम खर्च र कम मेहनतमा खेती गर्ने बालीको रुपमा चिनिन्छ ।

तर सरकारले यसलाई प्राथमिकतामा राखेको पाइँदैन । किनभने कोदोबारे अनुसन्धान गर्न नेपालमा वैज्ञानिकहरू खटाएको छैन् । नेपाल सरकारले धान, गहुँ, मकै आदि जस्ता खेतिको लागि बिउबिजनमा अनुदान दिन्छ तर अहिलेसम्म कोदोलाई भने अनुदान नदिएको कृषि विज्ञ डा. कृष्ण पौडेलको भनाइ छ ।

कोदो उत्पादन गर्ने घरमा दिनभरि काम गर्दा खाजाको रुपर्मा कोदोको रोटी तथा अन्य कोदोको परिकार दिने प्रचलन थियो । कोदोको महत्तवलाई आज हामीले नबुझ्दा यसको उत्पादन चक्र नै खलबलिएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् ।

उसो त कुनै समयमा नेपालमा कोदोलाई गरिबको खाना भनेर चिनिन्थ्यो । उत्पादन कम हुनुको कारण कोदोको पौष्टिक महत्व बारे जनचेतना कम हुनु र कोदोबालीलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक हुदा कोदोले पिछडा बालीको स्थान लिन थालेको कृषि विज्ञ डा. पौडेलको भनाइ छ । “भाते बानीको संस्कृति मौलाउँदा हाम्रो गाउँ समाजमा कोदोलाई भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ तर खाद्य सुरक्षाको दृष्टिकोणले त झनै यो ज्यादै महत्वपूर्ण बाली हो,” पौडेलले भने ।

कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको ‘स्मार्ट खाना’ समेत चित्रण गर्न थालिएको छ ।

पौष्टिक महत्व
यसमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ । धार्मिक हिसाबले हेर्ने हो भने नेवार, गुरुङ, तामाङलगायतका जनजातिको पूजाआजा चाडपर्वमा यसको प्रयोग अनिवार्य छ । स्थानीय रूपमा तयार गरिएका शुद्ध जाँड तथा रक्सी धेरै नेपाली तथा विदेशीले मीठो मानेर पिउने गर्छन् ।

अनुसन्धानकर्ता हुमा कुमारीले भनिन्, “आजभोलि त काठमाडौँका तारे होटलदेखि राजमार्गका रेष्टुराँ तथा रिसोर्ट र हिमाली क्षेत्रका होमस्टेमा कोदोको विभिन्न परिकार प्रयोग हुन थालेको छ । यसबाट बियर पनि तयार हुन्छ । ”
कोदोको नल पशुको लागि राम्रो घाँस पनि हो । यो हरियो तथा सुकाएर दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ ।
कोदोमा आइरन बढी हुन्छ । कोदोमा खानाको लागि आतिलो पनि हुन्छ । किनभने कोदोले अरु खानाले भन्दा बढी तागत दिन्छ ।
यसको भण्डार लगभग १५ वर्षसम्म गर्न सकिन्छ । कोदोलाई पानी कम चाहिने कारणले यसलाई सुक्खा ठाउँमा समेत खेती हुने गरेको छ । प्रायःजसो सीमान्त जग्गामा खेती गरिने कोदो बालीले खाद्य तथा पोषण सुरक्षामा ठूलो योगदान पु¥याउँदै आएको । कोदो क्याल्सियम र फस्फोरसको स्रोत भएकाले गर्भवती महिलाहरू का लागि कोदो उत्तम भोजन मानिन्छ । कोदो र मास २ः१ को अनुपातमा तयार पारिएको लिटो तथा कोदोबाट निर्मित माल्ट बच्चाहरूको लागि निकै राम्रो मानिन्छ ।

कोदोको पौष्टिक महत्तव उच्च भएकाले यसबाट बन्ने परिकारहरू होटाल तथा रेस्टुराँहरू मा लोकप्रिय भइरहेका छन् । कृषि मन्त्रालयका प्रवक्ता केसीका अनुसार, यदि अझै सरकारले कोदोको महत्तव नबुझने हो भने आउँदा दिनहरू मा देशमा भोकमोरीले महामारीको रूप लिनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अघिल्लो आर्थिक वर्षबाट कोदोका विभिन्र परिकारहरूलाई प्रथामिकतामा राखेर नमुना कार्य गरेको केसीको भनाइ छ ।

उत्पादन घट्दो क्रममा
नेपालका ७७ वटै जिल्लाहरूमा कोदो खेती गरिएको पाइएता पनि सबैभन्दा बढी यसको खेती हुने जिल्लाहरूमा खोटाङ्ग, सिन्धुपाल्चोक, बाग्लुङ्ग, स्याङ्जा, कास्की ओखलढुंगा, गोरखा, मकवानपुर र सिन्धुली पर्दछन् । त्यसैगरि सबैभन्दा थोरै क्षेत्रफलमा यसको खेती हुने जिल्लाहरूमा मनाङ्ग र मुस्ताङ्ग पर्दछन् । कुनैबेला नेपालले कोदो निर्यात गर्दै आएको थियो । तर पछिल्लो समय यसको महत्वबारे बुझाउन नसक्दा यसको उत्पादन घटेको कृषि विज्ञहरू बताउँछन् ।

बढ्दो मागलाई पूर्ति गर्न कोदो आयात बढ्दो छ । आर्थिक वर्ष २०७७\०७८ मा सात करोड २२ लाख रुपैयाँ बराबरको कोदो आयात भएकोमा २०७८\०७९ मा त्र सात करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको भन्सार विभागको तथ्याङ्क छ । त्यस्तै आर्थिक वर्ष २०७९\८० मा ३ लाख ४५ हजार ५७० मेटन कोदो उत्पादन हुँदा १८ हजार ४०३ मेटन आयात भएको थियो । त्यस्तै २०८०\८१ मा ३ लाख ५८ हजार ४४७ मेटन कोदो उत्पादन हुँदा १५ हजार २९८ मेटन कोदो उत्पादन भएको तंथ्याकले देखाएको छ ।

कोदो उत्पादन घटनुको मुख्य कारण भाते संस्कृतिको विकास रहेको वरिष्ठ कृषि विज्ञ छवि पौडेलले बताए । नेपालमा मुख्य गरि कोदो भिरालो ठाउँमा उत्पादन हुने गर्छ । पौडेलले भने, “मानिसहरू ले यसको महत्व नबुझेर पानी नभएको ठाउँमा जबरजस्ती आली लगाएर, आकाशे पानीलाई संकलन गरेर धान रोप्ने प्रचलन छ ।”पाखो खोस्रेर दाना फाल्दा पनि उर्मने भएकाले उत्पादनलाई व्यवस्थित गर्दै करोडौंको आयात रोक्न स्वेदशमै कोदो उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक देखिन्छ ।

कोदोको सम्भावना र प्रवद्र्धन
कोदो खेति समुन्द्रबाट २३०० मिटर उचाईसम्म गर्न सकिन्छ । सरकारको तर्फबाट पनि यसको उत्पादन वृद्धिका लागि कोदो प्रवर्धन कार्यक्रम ल्याउन जरुरी देखिन्छ । त्यस्तै क्षेत्रफलका हिसाबले पकेट ब्लक संचालन समिति बनाएर कृषकलाई सहुल्यत दरमा बिउ मल कृषि सामाग्री वितरण गर्न सके झनै राम्रो उत्पादन हुन सक्ने कृषि विज्ञहरू बताउँछन् । घिमिरेका अनुसार, कोदोको उत्पादनमा वृद्धि गरेर यसलाई लोकल रक्सी बनाएर विदेश आयत गर्न सरकारले ध्यान दिनुपर्ने बेला भएको छ ।

कोदोका हजार जात जिन बैंकमा
नेपालमा किसानहरूले कोदोको बीउबिजन प्रयोग गर्दा सिफारिस नभएका जात प्रयोग गर्ने प्रणाली रहेको छ । किसानले अर्को किसान अथवा छिमेकीमार्फत राखेको बीउ प्रयोग गर्ने गरिएको छ ।

कोदोमा करिब ९५ प्रतिशत अनौपाचारिक बीउबिजन प्रणाली रहेको बताइन्छ । नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार नेपालमा अनुसन्धानबाट ६ वटा कोदोका जात सिफारिस भएका छन् । उक्त जातहरूमध्ये तल्लो पहाडका लागि छुट्टै जात छन् भने मध्य पहाडका लागि ओश्ले एक, काभ्रे एक, काभ्रे दुई छन् ।

उच्च पहाड र हिमाली भागका लागि शैलुङ एक, कर्णाली क्षेत्रका लागि जुम्लाको रातो कोदो हुन् । नेपालमा रहेका कोदोका बीउ दोलखाको पहाडी बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्दै आएको छ । राष्ट्रिय जिन बैंकका अनुसार अनुसन्धान केन्द्रको जिन बैंकमा संरक्षण गरेर ६५ वटा जिल्लाबाट करिब एक हजार कोदोको जातहरू सुरक्षित राखिएका छन् ।