पोखरामा सार्वजनिक यातायात व्यवसायीको आन्दोलन


काठमाडाैँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न माग राखेर सुरू गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनावपूर्ण बनेको छ ।

रातो प्लेटका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनले राईड सेयारिङ सेवा सञ्चालन गरेको बिरोधमा यातायात व्यवसायीहरू बिरोधमा उत्रिएका हुन् । उनीहरूले आइतवारसम्म आफ्नो माग पूरा नभए आन्दोलन सुरू गर्ने र सार्वजनिक यातायात नै ठप्प पार्ने चेतावनी दिएका थिए । यसै क्रममा राइड सेयरिङ बिरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले पोखराको पृथ्वीचोकमा ग २० प ३९७३ को स्कुटर तोडफोड गरेका छन् ।

आन्दोलित सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि समेत आक्रमण गरेका छन् । व्यवसायीको आन्दोलनको भिडियो खिचिरहेका पत्रकारद्वय विना थापा मगर र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो ।

अन्दोलनकारीले सुरज सवार ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् । पृथ्वीचोकमा पर्यटक बस चलाएको भन्दै बसमाथि तोडफोड गर्न लागेका बेला क्यामेराले दृश्य कैद गर्दैगर्दा आफूहरूमाथि आक्रमण भएको सञ्चारकर्मी सुरजले बताए । घटनापछि आक्रमण गर्ने बिरुद्ध जाहेरी लिएर पत्रकारहरू जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । सञ्चारकर्मी थापाले आन्दोलन गर्ने क्रममा आन्दोलनकारीले पर्यटक बसमा आक्रमण गरेपछि रिपोर्टिङ गर्ने क्रममा आफूमाथि कुटपिट गरेको बताए ।

त्यस्तै कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले पत्रकारलाई कुटपिट गर्ने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको बताए । व्यवसायीहरूले शान्तिपूर्वक आन्दोलन गर्ने भनेपनि हातपात र आक्रमणमा उत्रिएको बताए । यातायात व्यवसायीले निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् ।

यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरूको माग छ ।