उच्च आर्थिक वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनामा केन्द्रीत हुन परिसंघकाे सरकारलाई सुझाव


काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट तथा आर्थिक नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । परिसंघले उच्च आर्थिक वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनामा ठूलो परिवर्तन गर्न सक्ने गरी नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिएको हो ।

बि.सं २०७९–२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसँग प्रस्ताव गरेको छ । परिसंघले १० वर्षको नीतिगत स्थिरता, आत्मनिर्भर हुन सक्ने वस्तुको संरक्षण र प्रोत्साहन, आयात हुने सम्पूर्ण वस्तुले अनिवार्य गुणस्तरीय मापदण्ड पूरा गर्ने व्यवस्था मिलाउन पनि परिसंघको सुझाव छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली अर्थतन्त्रमा रहेका केही समस्यालाई सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । उनले उत्पादनशील क्षेत्रमा गरिने कर्जाको ब्याजदर कम गर्ने नीति लिनुपर्ने बताए ।

उनले भने, “बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरूमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम गर्ने नीति लिइनु पर्ने र प्राथमिकता प्राप्त कर्जामा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाउने व्यवस्थालाई उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने सम्पूर्ण कर्जामा लागू गरिनु पर्छ ।”

उनले औद्योगीकरण, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन, गुणस्तरीय भौतिक पूर्वाधार तथा परियोजना व्यवस्थापन, भुक्तानी सन्तुलन व्यवस्थापन र लगानी वृद्धि अहिलेका मुख्य समस्या रहेको बताएका छन् ।

यसैगरी रोजगारीको अवसर सिर्जना, नीतिको कार्यान्वयन तथा सुशासन र लगानीयोग्य तरलताको व्यवस्थापनलाई पनि अर्थतन्त्रको समस्याको रूपमा प्रस्तुत गरिएको छ । परिसंघका सुझाव लगानी, उत्पादन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेका छन्।

यसैगरी, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागको कार्यक्षेत्रमा स्पष्टताको सुझाव पनि दिइएको छ । राजस्व अनुसन्धान विभागले ५० लाख रूपैयाँसम्मको चुहावटको विषय सम्बन्धित निकायलाई लेखी पठाउने हालको प्रावधानलाई १० करोड पु-याउन सुझाव दिइएको छ ।

बजेट ०७९/८०; सीएन आईको सुझाव (पूर्णपाठ)