नेप्सेमा २१.९१ अर्बको कारोबारसँगै नयाँ रेकर्ड कायम


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार ६४ अंकको उछाल आएको छ । केहि दिनयता बढेको सेयरबजार आज नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल स्टक एक्सेन्जका अनुसार आज हालसम्मकै धेरै २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ । यस अघि २०७८ साउन ३१ मा २१ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० अंकमा पुगेको छ ।

बुधबार कारोबार रकमका आधारमा हिमालय रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ८ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय १६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।