सहकारी छानबिन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने


काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ ।

सोमवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो । समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरूलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउनका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए ।

उनले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरूसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताए ।

“करिब करिब हामी निष्कर्षतिर जान खोज्दैछौँ । पर्याप्त सुझावहरू हामीले लिइसकेका छौँ । प्रमाणहरू पनि जुटाइसकेका छौँ । अब जे–जे जुटेका छन् ति प्राप्त प्रमाणहरू र सुझावहरूका आधारमा हामीले प्रतिवेदन तयार गर्ने प्रक्रियाको शुरुवात गर्न लागेका छौँ ।अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ,”उनले भने । उनले समितिले प्राप्त गरेको प्रमाण र सुझावहरुको आधारमा प्रतिवेदन तयार गर्न सुरू गरिएको बताए ।