शोधनान्तर घाटा एक महिनामै १० अर्बले बढ्यो


काठमाडौं । देशभित्र भित्रने रेमिट्यान्समा सुधार हुँदा विदेशी मुद्राको सञ्चितिम सरकारलाई केही राहत भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो महिनाभन्दा यो महिना ३ करोड अमेरिकी डलर सञ्चिति बढेको छ । प्रतिवेदन अनुसार चैमसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेको छ जुन फागुन मसान्तसम्म यो रकम ९ अर्ब ५८ करोड अमेरिकी डलर थियो ।

रेमिट्यान्स आप्रवाह गत फागुन मसान्तसम्म ६ खर्ब ३१ अर्ब १९ करोड थियो । यो रकम चैत्र मसान्तमा आउँदा ७ खर्ब २४ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधि तुलना गर्दा भने यो रकम ०.६ प्रतिशतले कमी हो ।

मासिक आधारमा हेर्दा भने विदेश बस्ने नेपालीले घर पठाउने पैसाको अनुपात बढेको देखिन्छ । माघमा ७१ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोका फागुनमा ९१ अर्ब २० करोड र चैत्रमा ९३ अर्ब ६० करोड रुपैयाँ भित्रिएसँगै विदेशी विनिमय सञ्चितिमा सुधार हुन थालेको हो ।

शोधनान्तर घाटा भने एक महिनामै १० अर्षले बढेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चैत्र मसान्तसम्म सोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा थियो । यो घाटा फागुन मसान्तसम्म २ करोड ५८ अर्ब ६४ करोड थियो ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति
७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ चैत्र मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु
क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः
३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।